तेहरान । इरानले रासायनिक हतियार विकास र भण्डारण गरिरहेको भनी इजरायलले लगाएको आरोपलाई इरानले कडा शब्दमा अस्वीकार गरेको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलको उक्त दाबीलाई पूर्णतः निराधार बताउँदै क्षेत्रिय तनाव भड्काउने उद्देश्यले यस्तो भ्रम छरिएको प्रतिक्रिया दिएका छन्।
यसअघि इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले रासायनिक हतियार बनाइरहेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने चेतावनी दिएका थिए।
काट्जको सोही अभिव्यक्तिमाथि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जवाफ फर्काउँदै विदेशमन्त्री अराघचीले इजरायलमाथि नै गम्भीर प्रश्न उठाएका छन्। उनले इजरायलले आणविक, रासायनिक वा जैविक हतियार निषेधसम्बन्धी कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर नगरेको स्मरण गराए।
‘आफूसँग सयौँ आणविक हतियार राख्ने, क्षेत्रका सात देशमाथि आक्रमण गर्ने र तीनवटा भूभाग कब्जामा लिने इजरायली शासनले इरानलाई दोष दिनु निर्लज्जताको पराकाष्ठा हो,’ अराघचीले लेखेका छन्। गत वर्ष मात्र इजरायलले अमेरिकालाई इरानविरुद्ध दुईवटा असफल युद्धमा धकेलेको उनको आरोप छ।
इरान आणविक अप्रसार सन्धि (एनपीटी) को हस्ताक्षरकर्ता र रासायनिक हतियार निषेध संगठन (ओपीसीडब्ल्यू) को सक्रिय सदस्य रहेको स्पष्ट पार्दै अराघचीले इरान स्वयं रासायनिक हतियारको पीडित भएको उल्लेख गरे। विगतमा पश्चिम जर्मनीको सहयोगमा सद्दाम हुसेनको शासनले इरानविरुद्ध रासायनिक हतियार प्रयोग गरेको इतिहास कोट्याउँदै उनले भने, ‘यस्तो पीडा भोगेको इरानमाथि औषधि कारखानामा खतरनाक हतियार लुकाएको आरोप लगाउनु हास्यास्पद छ।’
अन्त्यमा अराघचीले यस्ता उत्तेजक अभिव्यक्तिमार्फत इजरायलले पुनः अमेरिकालाई युद्धमा तान्ने षड्यन्त्र गरिरहेको दाबी समेत गरेका छन्।


