काठमाडौं । गत १२ वैशाखमा काठमाडौँ उपत्यकाका थापाथली, मनोहरा र सिनामंगललगायतका खोला किनाराका बस्तीमा डोजर चलाएर हटाइएका सुकुमवासी परिवारले सात महिना बितिसक्दा पनि स्थायी बास, लालपुर्जा र प्रतिबद्धताअनुसारको वैकल्पिक व्यवस्था पाएका छैनन्। बरु होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताइरहेका उनीहरूलाई सेन्टर खाली गर्न उर्दी जारी गरिन थालेपछि विस्थापितहरू थप अनिश्चितता र त्रासमा परेका छन्।
१५ दिनको वाचा, सात महिनाको अलपत्र बसाइ
बस्ती हटाउने क्रममा सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने आश्वासन दिएको विस्थापितहरूको भनाइ छ। तर, सात महिना बित्दासमेत न स्थायी आवासको टुंगो लागेको छ, न लालपुर्जा नै हात परेको छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्यांकअनुसार:
सुरुमा २ हजार ६ सय ८ घरधुरीका ११ हजार १ सय ५ जनाले सुकुमवासीका रूपमा नाम टिपाएका थिए।
डिजिटल लगत संकलनमा २ हजार ८२ परिवारको विवरण संकलन भएको थियो।
हाल ३ सय ८८ घरधुरीका १ हजार ४ सय ८८ जना समितिको सम्पर्कमा छन्।
तीमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ गरी ९६ परिवार अझै होल्डिङ सेन्टरमै बसिरहेका छन्।
विस्थापितहरू सिधै एउटै ठाउँमा राखिएका होइनन्; यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर हुँदै खरिपाटी, बालाजु र गोंगबुका साना होटल तथा अन्य केन्द्र चहार्दै अहिलेका सेन्टरमा पुर्याइएका हुन्।
पोषण, औषधि र सुरक्षाको अभावमा दीर्घरोगी तथा वृद्धवृद्धा
होल्डिङ सेन्टरमा रहेका अधिकांश व्यक्ति असहाय, वृद्धवृद्धा, दीर्घरोगी, अपांगता भएका र बालबालिका छन्। इचंगुनारायणको सेन्टरमा मात्रै रहेका ४५ परिवारका अनुसार बिहान साढे ७ बजे फिक्का चिया र बिहान ९ तथा बेलुका ६ बजे दिइने खानामा प्रायः बासी दाल र गुणस्तरहीन तरकारी मात्र हुन्छ। मिर्गौला, क्यान्सर र मधुमेहजस्ता रोगका बिरामीलाई चाहिने पोषणयुक्त खाना, ढिँडो वा फलफूलको व्यवस्था छैन।
उपचारको सकस: इचंगुनारायणका ६१ वर्षीय मिर्गौला रोगी प्रतापबहादुर लामाले गत भदौदेखि सातामा दुई पटक डाइलासिस गर्नुपर्ने भए पनि नियमित हुन सकेको छैन। ह्विलचेयरबिना हिँड्न नसक्ने उनको प्रत्येक पटकको डाइलासिस यात्रामा ३ हजार ५ सय रुपैयाँभन्दा बढी खर्च लाग्छ। स्याहारमा खटिएकी ५१ वर्षीया पत्नी शर्मिला लामा स्वयं कान नसुन्ने र उच्च मधुमेहकी बिरामी हुन्, जसको मुटुको उपचारमा यसअघि नै सात लाख रुपैयाँ खर्च भइसकेको छ। सेन्टरको ह्विलचेयर बिग्रिएको र राति बिरामी सिकिस्त हुँदा गाडी वा एम्बुलेन्स पाउन मुस्किल हुने उनीहरूको गुनासो छ।
मानसिक तनाव र भयावह स्थिति: मनोहराबाट विस्थापित ४७ वर्षीया कमला योञ्जन हातमा राखिएको स्टिल निकाल्ने शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि गाडी भाडा नहुँदा चिसो भुइँमै पीडा सहेर बसिरहेकी छन्। खरिबोट र इचंगुनारायणका वृद्धवृद्धा तथा बालबालिका बासी खाना, दबाई अभाव र फेरि सडकमा पुग्ने त्रासले मानसिक रूपमा थकित छन्।
खाली गर्ने उर्दी र मानवअधिकारको प्रश्न
बोडे लगायतका होल्डिङ सेन्टर खाली गर्न प्रशासनले उर्दी जारी गरेपछि कहाँ जाने र कसरी बाँच्ने भन्ने प्रश्न झन् पेचिलो बनेको छ। सरकारी निकायहरू एकअर्कालाई जिम्मेवारी पन्छाउँदै अघि बढ्दा नागरिकको आवास, स्वास्थ्य र शिक्षासम्बन्धी मौलिक हक व्यवहारमा उपेक्षित भइरहेको देखिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सहरी व्यवस्थापन र अनधिकृत बसोबास हटाउने विषयसँगै वास्तविक सुकुमवासीको आवास तथा मानवअधिकारको सुरक्षित वैकल्पिक व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्ने बताएका छन्। डोजर चलाएर बस्ती भत्काइएको सात महिना बितिसक्दा पनि ठोस पुनर्वास योजना कार्यान्वयन नहुँदा विस्थापित परिवारको भविष्य अझै अन्योलमा अल्झिएको छ।


