काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकहरूबाट गैरकानुनी रूपमा रकम असुल गरेको प्रकरणमा संलग्न रहेको आरोपमा भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज काठमाडौं ल्याउन लागिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरिएको हो । दिल्लीमा पक्राउ परे लगत्तै उनलाई हवाईमार्ग हुँदै पश्चिम बंगालको सिलगुडीस्थित बागडोगरा विमानस्थलसम्म ल्याइएको थियो ।
बागडोगरा विमानस्थलबाट स्थलमार्ग हुँदै उनलाई नेपालको पूर्वी नाका झापा ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ । झापाको भद्रपुर विमानस्थलमा पुर्याएपछि त्यहाँबाट आन्तरिक उडानमार्फत उनलाई आजै काठमाडौं ल्याउने सुरक्षा निकायको तयारी छ ।
काठमाडौं अवतरण गरेलगत्तै उनलाई आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने गृह मन्त्रालय स्रोतले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा अतिरिक्त आर्थिक भार थोपरेर गैरकानुनी रकम असुली गरेको प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।
ताजा अपडेट
लाेकप्रिय
©2026 All Right Reserved www.gaunagar.com | Powered By Sampurna Media Pvt. Ltd.


