काठमाडौँ । मलेसिया रोजगारीका नाममा अवैध रकम असुली गरी विदेश पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरे पनि उनलाई कहाँबाट नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया नै पठाएको प्रकरणमा मुछिएपछि उनलाई पक्राउ गरिएको हो। यस विषयमा थप जानकारी पछि बाहिर आउने गृह स्रोतले जनाएको छ।
यसै प्रकरणमा संलग्न रहेको अभियोगमा यसअघि तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइरहेको छ।


