सिरहा, लहान । छठपर्वको अवसरमा कुलमान घिसिङ सिरहा र सप्तरी आउने भएका छन्। मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रमअन्तर्गत उनी तीन दिन मधेसमा रहनेछन्। यस क्रममा वीरगन्ज हुँदै मधेस प्रवेश गर्ने घिसिङ सिरहा र सप्तरीका विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
निर्धारित कार्यक्रमअनुसार घिसिङले कार्तिक २९ गते साँझ सिरहा सदरमुकाममा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसैगरी, ३० गते बिहान मधेस आन्दोलनको उद्गमस्थलका रूपमा परिचित लहानस्थित खुट्टी खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रम रहेको छ। त्यसपछि उनी सप्तरीका विभिन्न स्थानमा पुग्नेछन्।
नेपालमा लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र नेपाल विद्युत् प्राधिकरणलाई नाफामा पुर्याउने नेतृत्वदायी व्यक्तित्वका रूपमा परिचित घिसिङको मधेस आगमनलाई लिएर स्थानीयस्तरमा उत्साह, चासो र चर्चा बढेको छ। विशेषगरी उनको कार्यशैली र सार्वजनिक जीवनमा पुर्याएको योगदानका कारण युवादेखि विभिन्न क्षेत्रका नागरिकले उनको भ्रमणलाई चासोका साथ हेरेका छन्।
भ्रमणका क्रममा उनले स्थानीय नागरिक, युवा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग प्रत्यक्ष भेटघाट र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार छठपर्वको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई आत्मसात् गर्दै मधेसका जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने उद्देश्यले यो भ्रमण तय गरिएको हो।
भ्रमण तालिकाअनुसार सिरहाको सदरमुकामसँगै मिर्चैया, गोलबजार, मुसहर्निया, मुकसायर, लहान, तरेगना र मानो लगायतका स्थानमा उनी पुग्नेछन्। त्यसैगरी सप्तरीका कुसहा बसानपट्टी चोक, कल्याणपुर, बैरिया, गरुराहा, मझौ, रुपनी, महुली, रुपनगर, कञ्चनपुर र फत्तेपुर लगायतका गाउँबस्तीमा स्थानीय व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ।
छठपर्वलाई मधेसको मौलिक संस्कृति, सामाजिक एकता र सामुदायिक सद्भावको महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। यही अवसरमा हुने घिसिङको भ्रमणले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र मधेसका सामाजिक, आर्थिक तथा विकाससम्बन्धी सवाल बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


