वि.सं.२०८३ मंसिर ११ बिहीवार
Shivam
Dish Home Long Ad
TaTa
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने लक्ष्यसाथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी तीव्र पारेको छ

मन्त्रालयले आवश्यक परामर्श र गृहकार्य पूरा गरी संशोधन विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। कानुनी प्रक्रिया टुङ्ग्याएपछि विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ। यसै सन्दर्भमा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अध्यक्षतामा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल भएको छ। मन्त्री मेहताले यसअघि पनि सम्बन्धित निकायहरूसँग चरणबद्ध छलफल गर्दै आएकी छन्।

प्रस्तावित संशोधनमा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिइएको छ। साथै सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगारकर्मी र सर्वसाधारणलाई बीमाको दायरामा ल्याउने तथा योगदान गर्न नसक्ने विपन्न नागरिकको उपचारको जिम्मा राज्यले लिने व्यवस्था प्रस्ताव गरिएको छ।

यसबाहेक स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका संस्थाबाट प्रवाह हुने स्वास्थ्य सुविधाबीच समन्वय र एकीकरण गर्ने, सेवा प्रवाह सरल बनाउने, स्वास्थ्य संस्थाको पहुँच बढाउने तथा अनावश्यक परीक्षण र अनुचित दाबी रोक्ने प्रावधान पनि संशोधनमा समावेश छन्।

स्वास्थ्य बीमालाई केवल उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी हरेक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गर्न कानुनी एवं नीतिगत सुधार अघि बढाइएको मन्त्री मेहताले स्पष्ट पारिन्।

Agni

सम्बन्धित खवर