वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
चरम गरिबीका कारण ब्लेडले घाँटी काटेर आत्महत्या, तीन महिनादेखि ट्याक्सीमै थियो बास
Prabhu Bank AD

काठमाडौँ । भक्तपुरको छालिङ–७ घर भएका ५४ वर्षका कृष्ण नगरकोटी मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा मृत भेटिए । सोमबार साँझ उनका छोरा रिचेन नगरकोटी घाइते अवस्थामा भेटिएका थिए ।

चोभार स्थित चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेको अवस्थामा रिचेनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । उद्धार गरेपछि प्रहरीसँग रिचेनले भनेका थिए, ‘बुवाले भनेर आत्महत्या गर्न आएको हुँ, उहाँ पनि आत्महत्या गर्छु भनेर हिँड्नु भएको छ ।’

कृष्णले मोबाइल बोकेका थिएनन् । मंगलबार बिहान शव फेला परेपछि अनुसन्धान गर्दा छोरी रश्मि नगरकोटी सेतोपुलमा फेला परिन् । २८ वर्षीया रश्मि ट्याक्सीमा बसिरहेकी थिइन् ।

बा.१ ज ९६५ नम्बरको ट्याक्सी कृष्णले भाडामा लिएर चलाउँथे । जेठ ८ गते ट्याक्सी बिग्रिएको र बनाउने मेकानिक लिएर आउँछौँ भनेर कृष्णले रिचेनलाई साथमा लिएर हिँडे । त्यहाँबाट हिँडेको केही बेरमा बुवा र छोरा छुट्टिए । छुट्टिने बेलामा कृष्णले दुईवटा ब्लेड दिँदै छोरालाई भने–‘दक्षिणकालीमा गएर आत्महत्या गर्नु, मुखमा कपडा कोच्नु, म पनि कुनै ठाउँमा गएर आत्महत्या गर्छु ।’

छोरालाई उनले १ सय २५ रुपैयाँ गाडी भाडा पनि दिए । बुवाले नै अह्राए अनुसार चोभार चाल्नाखेलमा ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गर्दा प्रहरीको क्यूआरटी मोटरसाइकलमा सवार सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरे ।

रिचेनले प्रहरीलाई बताए अनुसार पारिवारिक अवस्था, गरिबी र जिन्दगीबाट दिक्दार भएर उनीहरू आत्महत्या गर्ने निर्णयमा पुगेका हुन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘बुवाले मलाई ब्लेडले अगाडिबाट काट्नु भन्नुभएको थियो, तर मैले दायाँ बायाँ काटेर बाँचे ।’

पत्नीले छाडेपछि कृष्ण दुईजना छोराछोरी साथमा लिएर रवि भवन स्थित गणेशस्थानमा डेरा लिएर बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि उनीहरूले पछिल्लो समय ट्याक्सीलाई नै घर बनाए । जिल्ला प्रहरी परिसर काठमाडौँमा रातोपाटीसँग कुरा गर्दै रश्मिले भनिन्–‘३ महिनादेखि हामी ट्याक्सीमै बस्थ्यौँ ।’

कृष्णले १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । रिचेन र रश्मिको मानसिक अवस्था साधारण नदेखिएको एसपी अधिकारीले जानकारी दिए । अनुसन्धान अधिकृतहरूले उनीहरूसँग सोधपुछ गरिरहेका छन् । कृष्णको शव नजिकै ४ वटा ब्लेड र रिचनेका साथबाट दुईवटा ब्लेड बरामद गरिएको छ । छोरालाई अह्राए अनुसार कृष्णले पनि आफ्नो मुखमा कपडा कोचेर आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Prabhu Bank AD

सम्बन्धित खवर