वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
दिल्लीबाट संयुक्त रुपमा जारी गरिएको यस्तो छ संयुक्त वक्तव्य
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल कनेक्टिभिटी, ऊर्जा, व्यापार र पूर्वाधार विकाससम्बन्धी विभिन्न सम्झौताहरू भएका छन्।
सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले नेपाललाई २४० अर्ब रुपैयाँ (२४ हजार करोड रुपैयाँ) बराबरको अनुदान र ऋण उपलब्ध गराउने भएको छ।
दुई देशबीच हवाई प्रवेश मार्ग, सीमापार रेल कनेक्टिभिटी र जलविद्युत् आयोजनालगायत लामो समयदेखि थाती रहेका विभिन्न विषयमा समेत नयाँ समझदारी जुटेको छ।
सम्झौताहरूमा काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने, रक्सौल–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउने र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को ‘अफशोर’ (विदेशस्थित) क्याम्पस स्थापना गर्ने विषय समावेश छन्।
यद्यपि, दुवै देशले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने र बाँकी रहेका सीमा विवाद समाधान गर्ने सम्बन्धमा आफ्ना पूर्वप्रतिबद्धताहरू दोहोर्‍याएका छन्।
संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ यहाँ प्रस्तुत छ:
१. भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय श्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँको साथमा उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेपछिको यो पहिलो भारत भ्रमण हो।
२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान (सेरेमोनियल वेलकम) प्रदान गरिएको थियो। उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभयो।
३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग द्विपक्षीय वार्ता गर्नुका साथै उहाँको सम्मानमा दिवाभोजको आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरू, पारस्परिक हितका क्षेत्रीय मुद्दाहरूका साथै विश्वव्यापी घटनाक्रमहरू समेटिएका थिए।
४. नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछिको अवस्थामा भारतले पुर्‍याएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गर्नुभयो।
५. प्रधानमन्त्री मोदीले घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल समर्थन रहने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो। भारतले नेपाललाई कुल १५,००० करोड भारु (२४,००० करोड नेरु) बराबरको विकास सहायता उपलब्ध गराउनेछ, जसमा नेपालको विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३,५०० करोड भारु (५,६०० करोड नेरु) अनुदान सहायता तथा ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११,५०० करोड भारु (१८,४०० करोड नेरु) बराबरको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) समावेश छ। विकास सहायता प्रदान गर्ने विशिष्ट आयोजनाहरू र कार्यविधिहरू आपसी परामर्शमार्फत टुंगो लगाइनेछ।
६. दुवै नेताले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लगायत नेपालमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण कार्यमा हासिल भएको प्रगतिको सराहना गर्नुभयो। दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क (एग्रो–इन्डस्ट्रियल पार्क) स्थापना गर्ने घोषणाको पनि स्वागत गर्नुभयो।
७. दुई नेताले “विकसित भारत र समुन्नत नेपाल” को संयुक्त दृष्टिकोण (ज्वाइन्ट भिजन) पारित गर्नुभयो। यस संयुक्त दृष्टिकोण वक्तव्यले भारत र नेपालबीचको महत्त्वाकांक्षी र भविष्यमुखी साझेदारीको मार्गचित्र प्रदान गर्दछ। यसले आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा र जलस्रोत, तथा जनस्तरको सम्बन्धजस्ता द्विपक्षीय सहयोगका परम्परागत रूपमा बलिया क्षेत्रहरूलाई अझ सुदृढ बनाउनुका साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका पहलहरूलाई समेटेको छ।
८. कनेक्टिभिटी बढाउने र द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नागरिक उड्डयनका विषयमा भइरहेका छलफलहरूलाई दुवै नेताले नोट गर्नुभयो। विद्यमान एकतर्फी ‘बी३४५’ (B345) काठमाडौँ–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा कार्यविधि तय गर्न र हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिनेछन्।
९. प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (काण्डला, गुजरात) मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो। यसका साथै, आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिशा) सम्मको पहुँच पनि उपलब्ध गराइनेछ।
१०. दुई नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) र पेट्रोलियम पाइपलाइनहरूको निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार गर्ने र सीमा पूर्वाधार सुदृढ बनाउने महत्त्वमा जोड दिनुभयो।
११. दुई प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने पहिलो ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा झण्डा हल्लाएर शुभारम्भ गर्नुभयो। यस रेल सेवाले कनेक्टिभिटीमा सुधार ल्याउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई टेवा पुर्‍याउने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्धलाई अझ मजबुत बनाउनेछ। नेताहरू बौद्ध र शिव–शक्ति धार्मिक पर्यटन सर्किटको विकासका लागि यस्तै किसिमका अन्य सम्पर्क सञ्जालहरू खोज्न सहमत हुनुभयो।
१२. दुई नेताले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको स्थलगत स्थान सर्वेक्षण (फिल्ड लोकेसन सर्भे) सम्पन्न भएको घोषणा गर्नुका साथै नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुई नेताले वनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो र भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो। भारत र नेपालबीच तीनवटा आईसीपीहरू यसअघि नै सञ्चालनमा आइसकेका छन्।
१४. नेताहरूले धार्चुला (भारत) र दार्चुला (नेपाल) जोड्ने नयाँ सीमापार मोटरयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न मद्दत पुर्‍याउनेछ।
१५. सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै नेताहरूले बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा नेताहरूले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको भर्चुअल शिलान्यास गर्नुका साथै सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम छिट्टै सुरु गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्यका सम्भावना खोज्न पनि दुवै पक्ष सहमत भएका छन्।
१७. ऊर्जा क्षेत्रको सहयोगसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुरूप जलविद्युत् क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गर्दै दुवै पक्षले भारतीय कम्पनीहरूद्वारा नेपालमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरू शीघ्र सम्पन्न गर्ने सुनिश्चितता गर्न सहमति जनाएका छन्। सोही अवसरमा दुई नेताले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभयो।
१८. दुई नेताले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई शीघ्र अन्तिम रूप दिई आयोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई निर्देशन दिनुभयो। पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरको कामलाई तीव्रता दिनुपर्ने आवश्यकतामा पनि दुवै नेता सहमत हुनुभयो।
१९. इनरुवा (नेपाल)–नयाँ पूर्णिया (भारत) र दोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार प्रसारण लाइनहरूका लागि संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गठन गर्ने सम्बन्धमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धि सहयोगको विस्तारस्वरूप भारतले नेपालमा आईआईटीको ‘अफशोर’ क्याम्पस स्थापना गर्ने विषयमा दुई नेता सहमत हुनुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन (फोर्स–मल्टिप्लायर) ल्याउनुका साथै रोजगारी सिर्जनालाई समेत प्रवर्द्धन गर्नेछ। स्टार्टअप तथा डिजिटल र वित्तीय कनेक्टिभिटीसहित प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहयोगको दुवै नेताले स्वागत गर्नुभयो।
२१. एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चारलगायतका सेवाहरूमा सहज पहुँचको व्यवस्था आपसी रूपमा मिलाउनुपर्ने आवश्यकतालाई दुवै पक्षले स्वीकार गरेका छन्।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्नलिखित समझदारीपत्रहरू (एमओयू) आदानप्रदान गरिए:
  • भारतको गुजरातस्थित गान्धीनगरको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।

  • भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र।

  • नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी भारत सरकारको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र।

  • आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

  • दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र।

  • दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

  • स्वास्थ्य तथा औषधिको क्षेत्रमा सहयोगसम्बन्धी भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।

  • पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो र उहाँलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्नुभएको छ र भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी सबै तहमा रहेको गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ, जसलाई बलियो जनस्तरको सम्बन्धका साथै घनिष्ठ आर्थिक तथा विकास सहयोगले अझ सुदृढ बनाएको छ। यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा र यसलाई अझ अगाडि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६ नयाँ दिल्ली

Agni

सम्बन्धित खवर