वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
फैसलाअघि गौशला २६ ले सन्दीप लामिछानेलाई म्यासेज गरेकी थिइन् : ‘तँ ढिलोचाँडो जेल जाने हो’
Prabhu Bank AD

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने भलत्कारी ठहर भएका छन् । को पक्षबाट बहस गर्ने कानुन व्यवसायीको अन्तिम प्रतिवाद भने पीडित ‘गौशाला २६’ ले गरेकी थिइन् । इजलासमा उभिएर उनले आफूमाथि भएको यौनहिंसा र कानुनी लडाइँका लागि गरेको संघर्षबारे बताउनुका साथै सन्दीपका कानुन व्यवसायीले लगाएका आरोपको प्रतिवाद गरिन् ।

बन्द इजलासमा रहेका प्रत्यक्षदर्शी सन्दीपका कानुन व्यवसायी र पीडित पक्षका कानुन व्यवसायीहरूका अनुसार गौशाला २६ ले कहिल्यै थाहा नभएको न्यायिक प्रक्रियामा आफूले कसरी संघर्ष गर्नुपर्‍यो भन्नेलगायत कुरा राखेकी थिइन् । त्यसपछि सन्दीप पक्षका कानुन व्यवसायीले बहसका क्रममा उठाएका प्रश्नको जवाफ दिइएकी थिइन् ।

सन्दीपका वकिलले गौशाला २६ ले धम्की दिएको तर्क पेस गरेका थिए । त्यो सुनेकी उनले धम्क्याएको नभई ‘तँ ढिलोचाँडो जेल जाने हो’ भनेर म्यासेज गरेको इजलाससमक्ष बताइन् ।

सन्दीपका वकिलहरूले बालिग प्रमाणित गर्न राखेका तर्कको प्रतिवाद गर्न लागेपछि पीडित पक्षका वकिलहरूले भने गौशाला २६ लाई पहिल्यै प्रतिवाद भइसकेकाले नबोल्न भनेका थिए । न्यायाधीश ढकालले अन्तिममा दिएको २ मिनेटको समयभित्र उनले आफ्ना कुरा राखेकी थिइन् ।

गौशाला २६ ले प्रतिवाद गरेको साढे २ घण्टापछि न्यायाधीश ढकालको इजलासले सन्दीप लामिछाने जबर्जस्ती करणीमा दोषी ठहर भएको फैसला सार्वजनिक गरेको थियो । फैसला काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले पढेर सुनाएका थिए ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ । ‘प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाका दिनको क्रियाकलापको घटनाक्रमसमेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६ का बीचमा करणी भएको देखियो,’ फैसलामा लेखिएको छ, ‘१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर छ ।’

पीडित नाबालिक भनिए पनि अदालतले घटना भएको दिन २०७९ भदौ ५ मा १८ वर्ष पुगेको ठहर गरेको छ । बसाइँसराइ रजिस्ट्रर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जको डेलिभरि रजिस्ट्रर, गौशाला २६ को बकपत्रलगायतका प्रमाणबाट उनी घटनाको दिन १८ वर्ष पूरा भएको संक्षिप्त फैसलामा उल्लेख छ ।

पीडित गौशाला २६ बालिग ठहर भएसँगै सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म’ कैद सजाय हुने व्यवस्था गरिएको छ । न्यूनतम ७ र अधिकतम १० वर्ष कैद सजाय निर्धारण गर्दा न्यायाधीशले करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेर्ने उल्लेख छ ।

पुस ८ देखि लगातार अन्तिम सुनुवाइ भएको मुद्दाको फैसलामा पक्ष र विपक्षका बयान, साक्षीका बयान र घटना विवरण, सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गई पुनः काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ । एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको ठहर अदालतले गरेको छ ।

सन्दीपलाई कति सजाय हुने भन्ने यकिन गर्न पुस २५ मा पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर तथा सजाय निर्धारणका लागि अर्को पेसी तोक्नुपर्ने फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ मा व्यवस्था छ । उक्त पेसी पनि न्यायाधीश ढकालकै इजलासमा तोकिनेछ । त्यसअगावै वादी, प्रतिवादी तथा जाहेरवाला पक्षका कानुन व्यवसायीबाट सजायपूर्वको प्रतिवेदन तथा पीडितलाई बढाउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारसमेत पेस गर्न आदेश भएको छ ।

पीडितको पक्षबाट सरकारी वकिलहरूका अलावा वरिष्ठ अधिवक्ताहरू सुनिता रेग्मी र शशि अधिकारी तथा अधिवक्ताहरू शान्ति रिजाल, मोहना अन्सारी, सविता विमली, आस्मा आचार्य, लेखनाथ पौडेललगायतले बहस गरेका थिए ।

सन्दीपले बलात्कार गरेको भनेर २०७९ भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । उजुरी परेका बेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनी जाहेरी दर्ता भएको १ महिनापछि असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मुद्दा दायर भएपछि पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको थियो भने २०७९ पुस २८ मा उच्च अदालत पाटनले २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी बुझाएर सन्दीप बाहिर निस्किएका थिए । तर, उनलाई उच्च अदालतले नेपाल छोड्न प्रतिबन्ध लगाएको थियो ।

विदेश जान पाउँ भन्दै सन्दीपले सर्वोच्च अदालतमा रिट दायर गरेकोमा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले २०७९ फागुन १५ मा सर्तसहित क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति हुने आदेश दिएको थियो । सन्दीप क्रिकेट खेल्न देश र विदेशमा व्यस्त भइरहेका बेला उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा कहिले हेर्दाहेर्दै त कहिले हेर्न नभ्याइनेलगायतका कारणले लम्बिँदै आएको थियो । उनीविरुद्ध मुद्दा दर्ता भएको १४ महिनापछि फैसला भई बलात्कारमा दोषी ठहर गरिएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर