वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
हामी ज्यामी देशका गुलाम‌ नागरिक !
Prabhu Bank AD

 

हिरोसिमा र नागासाकी
अणु वमले खरानी बनेको कथा सुन्दा
हाम्रो दिलमा
एकाना पनि घृणा थपिदैन अमेरिकाप्रति
लाखौं अफगानीको रगत पियो
अमेरिकी बम र बन्दुकले
अहँ हाम्रा आँखामा आँशु रसाएन
एउटा स्वतन्त्र देश इराकमा
लफडा झिकेर छिर्यो अमेरिका
र राष्ट्रपति समेतलाई फाँसी दियो
त्यसपछि पनि
हाम्रो अमेरिका भक्ति डगमगाएन
लेवनान उसै गरी छिर्यो
र उसै गरी हत्या दोहोरियो
हामी नतमस्तकका नतमस्तक रह्यौं
सिरियाली नागरिकहरू
दैनिक मरिरहेका छन
त्यही अमेरिकाको वमवर्षकद्वारा
भियतनाम युध्दको कथा
हामीले पढेका छौं
त्यसो त भूपीको कविता
‘होचिमिन्हलाई चिठी’ पनि पढेका छौं
उचालेर युक्रेनलाई
परिबन्धमा राखेर यूरोपलाई
जिस्क्याएर रुसलाई
युध्दको खेती गरिरहेछ अमेरिका
युध्द सामाग्री बिक्रीबाट
महङ्गो बाली उठाइरहेछ अमेरिका
तर हाम्रो अमेरिकी रुझान
टसमस भएन
“अमेरिका इज अमेरिका
अमेरिका इज ड्रिम कन्ट्री
अमेरिका एण्ड ह्याभेन आर सेम ” वाला सोच
सतीसाल बनेर ठडिरह्यो ।

एउटा पनि देशमा
एउटा पनि वम खसालेको छैन
उत्तर कोरियाले
कुनै फरक देशमाथि
एउटा पनि हमला गरेको छैन उसले
तर हाम्रो गोबर भरिएको दिमागले
अमेरिकी शासकलाई
प्रजातन्त्रको रक्षक
र उत्तर कोरिया तक्षक लाग्छ
उत्तर कोरियाली शासक
सनकी लाछ /तानाशाह लाग्छ ।

अमेरिकाको कठपुतली
इजरायली शासकले
पन्ध्र वर्षमा
तेत्तिस हजार
प्यालेस्टाइनी बच्चाको रगत पियो
लाखौं घरहरू भत्कायो
पचासौं हजार निशस्त्र नागरिकहरू मार्यो‌
तर पनि
हाम्रो मेड इन अमेरिकी दिमागले
हमासलाई आतङ्ककारी भनिरह्यो
र इजरायललाई
आफ्नो देशलाईभन्दा बढी माया गरिरह्यो ।

हामीले डिभी भर्ने देश अमेरिका
हाम्रो ड्रिमल्याण्ड अमेरिका
इजरायल मिनी ड्रिमल्याण्ड
इजरायल मिनी अमेरिका
हाम्रो अन्नदाता देश इजरायल
हामी ज्यामी देशका गुलाम नागरिक
हामी कसरी घृणा गर्न सक्छौं उसलाई ?

हामी ज्यामी देशका गुलाम नागरिक
हाम्रो सोच्ने कुरामा सीमा छ
सीमा मात्र भए त बढाउन सकिन्थ्यो
तर हाम्रो सोचाई
टाउको टेकेर उभिएको छ
अझै कति दशक
हामी टाउकाले टेकेर हिड्ने हौं ?!

२०८० असोज २६
सिनामङ्गल

Prabhu Bank AD

सम्बन्धित खवर