वि.सं.२०८३ असोज ६ मंगलवार
Dish Home Long Ad
तिब्बतबाट आएको आकस्मिक बाढीले रसुवामा तहसनहस, टिमुरे–स्याफ्रुबेँसीमा ठूलो क्षति

 

धुन्चे, रसुवा । रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान करिब ९ः१५ बजे तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले टिमुरे, रसुवागढी भन्सार क्षेत्र र स्याफ्रुबेँसीमा ठूलो क्षति पुर्‍याएको छ। स्थानीय क्षेत्रमा उल्लेख्य वर्षा नभए पनि नदीमा एक्कासि आएको बाढीमा ठूलो परिमाणमा लेदो र ढुंगा मिसिएको थियो।

प्रारम्भिक अध्ययनअनुसार बाढी तिब्बत क्षेत्रमा हिमताल फुट्दा वा अन्य कुनै कारणले एक्कासि पानीको बहाव बढ्दा आएको हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले चिनियाँ पक्षसँग समन्वय गर्नुका साथै भू–उपग्रह तस्बिरमार्फत घटनाको प्राविधिक विश्लेषण गरिरहेको जनाएको छ।

९ः१५ बजे एक्कासि बढ्यो नदीको बहाव
बुधबार बिहान करिब ९ः१५ बजे भोटेकोशी नदीमा असामान्य रूपमा पानीको बहाव बढेको थियो। बाढीले केही मिनेटमै नदी आसपासका संरचना र सडकमा क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा बाक्लो लेदो, धुलो र कुहिरो/वाफका कारण उद्धार तथा क्षतिको विवरण संकलनमा समेत कठिनाइ भएको छ।

भन्सार क्षेत्र र पार्किङमा राखिएका सवारी जोखिममा
बाढीको सबैभन्दा ठूलो प्रभाव टिमुरेस्थित रसुवा भन्सार कार्यालय क्षेत्रमा परेको प्रारम्भिक विवरण छ। भन्सार यार्डमा पार्किङ गरिएका सवारीसाधनमध्ये केही बाढीले बगाएको वा लेदोमा पुरिएको आशंका गरिएको छ।

टिमुरे बजारका केही घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। सडकमा ठूलो मात्रामा लेदो थुप्रिएपछि स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ।

जलविद्युत् आयोजनामा पनि क्षति
बाढीले स्याफ्रुबेँसी आसपासका जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ। एउटा जलविद्युत् आयोजनाको संरचना नै बाढीले बगाएको बताइएको छ।

सुरक्षाकर्मी र स्थानीयसँग सम्पर्क कठिन
बाढीपछि प्रभावित क्षेत्रमा टेलिफोन तथा मोबाइल नेटवर्क अवरुद्ध हुँदा भन्सार कर्मचारी, सुरक्षाकर्मी र स्थानीयसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको प्रशासनले जनाएको छ।

बाढी आएपछि स्थानीयहरू ज्यान जोगाउन अग्लो तथा सुरक्षित स्थानतर्फ भागेका थिए। तर, मानवीय क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन।

त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता
भोटेकोशी हुँदै बाढी त्रिशूली नदी प्रणालीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फका नदी तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।

स्थानीय प्रशासनले त्रिशूली नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भन्दै नदी किनारमा नजान, माछा मार्न तथा काठ–दाउरा संकलन नगर्न र पौडी नखेल्न आग्रह गरेको छ। जोखिममा रहेका बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न समेत अनुरोध गरिएको छ।

उद्धार टोली परिचालन
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धार तथा खोजी कार्यका लागि परिचालन भएका छन्। केन्द्रबाट समेत उद्धार तथा राहत व्यवस्थापनका लागि समन्वय भइरहेको छ।

अहिले बाढीको वास्तविक कारण, मानवीय क्षति, बगेका सवारीसाधनको संख्या र भौतिक क्षतिको आर्थिक मूल्यांकन हुन बाँकी छ। प्रभावित क्षेत्रमा उद्धार टोली पुगेपछि क्षतिको विस्तृत विवरण आउने प्रशासनले जनाएको छ।

सम्बन्धित खवर