वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
बलात्कार गरी हत्या गरिएकी इनिशा विकका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन
Prabhu Bank AD

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकलाई न्यायका माग गर्दै बिहीबार माइतीघर मण्डल, सुर्खेत लगायतका स्थानमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, देशभर भएका बलात्कारका घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय आयोग गठन गर्न माग गरेका छन्। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन लगायतको आयोजनामा प्रदर्शन गरिएको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशा विक शनिबार (२३ फागुन) बिहान ६ बजे घरबाट विद्यालय जान भन्दै निस्किइन् । गुर्भाकोट नगरपालिका– ६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी उनी उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । त्यस दिन उनी प्रयोगात्मक कक्षामा शिक्षकहरूले बोलाएको भन्दै घरबाट हिँडेकी थिइन् ।

इनिशाकी आमा तिला विकले शनिबारको दिन विद्यालय नजान आग्रह गरिन् । तर, सरहरूले बोलाउनुभएको छ, चाँडै आइहाल्छु भन्दै इनिशा विद्यालय जान घरबाट हिँडिन् । तिलाले बिहान ८ बजेपछि इनिशालाई फोन गरिन् । तर, उनको फोन स्वीच अफ थियो । बारम्बार फोन गर्दा बिनाखबर मोबाइल अफ भएपछि तिलाले विद्यालयमा फोन गरिन् ।

विद्यालयले उनी नआएको खबर गर्‍यो । तिलालाई लाग्यो, छोरी साथीसँग गइहोली तर, त्यसको केही समयपछि तिलाको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो । उक्त नम्बरबाट फोन गर्ने अपरिचित व्यक्तिले तिलालाई सोधे, ‘तपाईं इनिशाको ममी हो ?’ उक्त व्यक्तिलाई तिलाले आफू नै इनिशाको आमा भएको सुनाइन् । ती व्यक्तिले आत्तिएर भने, ‘तपाईंकी छोरी शहीदपार्कको जंगलमा अचेत अवस्थामा छिन्, तुरुन्त आउनुस् ।’

एक्कासि छोरी अचेत भएको खबर पाउनासाथ तिला ती व्यक्तिले भनेको स्थानमा हतारहतार पुगिन् । त्यहाँ पुग्दा तिलाका आँखा अघि नसोचेको घटना भएको थियो । इनिशा रक्ताम्मे शरीर लिएर अचेत अवस्थामा ढलेकी थिइन् । कपाल लुछिएको, जुत्ता र मोजा अलगअलग अवस्थामा थिए ।

इनिशालाई यस्तो अवस्थामा देखेपछि आफन्तले तत्काल प्रहरीलाई खबर गरे । बेहोस अवस्थामा ढलेकी इनिशाको शरीरमा कपडा थिएन । उनको शरीर कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो । छातीभरि नीलडाम थिए,’ भक्कानिदै तिलाले भनिन्, ‘छोरीको त्यो अवस्था देखेपछि मेरो शरीर काँप्न थाल्यो । आँखा तिरमिराउन थाले । म त्यहीँ बेहोस भएछु । प्रहरीले छोरीलाई अस्पताल पुर्‍याएको पनि थाहा पाइनँ ।’

तत्काल पुगेको प्रहरीले वीरेन्द्रनगर– ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल पुर्‍यायो । तर, उनलाई अस्पतालले मृत घोषणा गर्‍यो । घटनास्थलमा खटिएको प्रहरीले वीरेन्द्रनगर– ९ घर भएका १६ वर्षीय एक बालकलाई घटनास्थलबाटै नियन्त्रणमा लियो ।

उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि इनिशाको मृत्यु भएको देखाएको छ । तर, पीडित परिवाले चार जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले इनिशाको पोस्टमार्टम रिपोर्टअनुसार पाठेघरबाट अत्यधिक रक्तश्रापका कारण मृत्यु भएको बताए । प्रहरी प्रवक्ता बुढथापाले घटनास्थलबाट पक्राउ परेका बालकले इनिशासँग शारीरिक सम्पर्क गरेको र त्यसपश्चात् अत्यधिक रक्तश्राव भई अचेत भएको बयान दिएका छन् ।

उनका अनुसार इनिशा अचेत भएपछि ती बालकले अन्य तीन जना साथीलाई बोलाएका थिए । ‘पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्राप मृत्युको कारण देखिएको छ,’ प्रवक्ता बुढथापाले भने, ‘थप अनुसन्धानका लागि भेजाइनल स्वाबको रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्टपछि अन्य तीन जनाको संलग्नता भएरनभएको खुल्छ ।’

Prabhu Bank AD

सम्बन्धित खवर