काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले उत्पीडित जनतामाथि दम्भ र तिरस्कार नदेखाउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएको छ ।
महानगरको आइतबारदेखि सुकुमबासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै अलायन्सले उत्पीडित जनतामाथि दम्भ तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन भनेको हो। आज एक विज्ञप्ति जारी गर्दै अलायन्सले बसोबास उठाउने द्वन्द्व नभई समाधानको तयारी गर्न अनुरोध समेत गरेको छ ।
अलायन्सले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएकोमा उनीहरूमाथि निरन्तर प्रहार र सास्ती दिदैं देशभित्रै आप्रवासी जस्तो व्यवहार गरी बास खोस्ने कार्यको निन्दा गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘ काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिईकन सम्बन्धित क्षेत्रबाट फेरि बस्तीहरूमा डोजर लगाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनताको यति ठूलो हिस्सा आफ्नै देशमा कसरी भूमिहिन र बिस्थापित बनाइए भन्ने ऐतिहासिक श्रृङखलाबद्ध राज्यको बदमासी, सामाजिक असंवेदनशिलता, विभेद, द्वन्द र बहिष्करणको ख्याल नराखि यस्ता निर्णय गरिनु खेदजनक छ ।’
मौजुदा ऐनकानुनले बस्ती हटाउने प्रकृया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भएपनि त्यसलाई पूरा नगरिकन आतंक र भयको वातावरण सिर्जना गरिएको अलायन्सको टिप्पणी छ । सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रस्तुत गर्न अनुरोध समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘निहत्था, उत्पीडित जनताहरूमाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस् । सार्वजनिक सम्पत्ति पहिला जनताको हो र त्यसपछि जनताले निर्माण गरेको राज्यले त्यसको व्यवस्थापन गर्ने हो भन्ने हेक्का राखि जनउत्तरदायित्व बहन गर्न काठमाडौं महानगरपालिका लगायतका सबै सार्वजनिक सरकारी निकायहरूलाई अनुरोध गर्नचाहन्छौं ।’


