वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
जनता खान नपाएर मर्नुपर्ने अवस्थामा छन्, पूर्वविशिष्टलाई सुविधा किन ? भन्दै विरोध प्रदर्शन
Prabhu Bank AD

काठमाडौं । पूर्वविशिष्ट पदाधिकारीलाई सरकारले सुविधा दिन लागेको विरोधमा मंगलबार काठमाडौं माइतीघरमा प्रदर्शन भएको छ । स्वतन्त्र नेपाली अभियानले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा खारेज गर, देश लुट्न बन्द गर भन्ने नारासहित प्रदर्शन गरेको हो । सरकारले कार्यविधि बनाएर पूर्वविशिष्ट पदाधिकारीलाई गाडीदेखि आवाससम्मको सुविधा दिन लागेको समाचार सार्वजनिक भएको थियो ।

अभियानमा आबद्ध एसबी खत्रीले निर्णय फिर्ता नलिएसम्म विरोध प्रदर्शन जारी राख्ने बताए । ‘जनताले बैंकबाट ऋण पाएका छैनन्, किसानले मल पाएका छैनन्, विद्यार्थीले किताब पाएका छैनन्,’ उनले भने, ‘देशको आर्थिक अवस्था विषम परिस्थितिमा छ, यस्तो अवस्थामा पूर्वविशिष्टलाई सुविधा दिन पटक्कै मिल्दैन, त्यही कारण हामी सडकमा आएका हौँ ।’

सरकारले अवकाशपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सुविधा दिने तयारी गरिरहेको छ । देशको अर्थतन्त्र गम्भीर समस्यामा रहेका वेला नेताहरूलाई सुविधा दिने तयारीको सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको छ । सर्वोच्च अदालतले कानुन बनाएर मात्र पूर्वविशिष्टलाई सुविधा दिन भने पनि सरकारले संसद्बाट ऐन बनाउने बाटो छलेर कार्यविधिमार्फत सुविधा दिन लागेको हो । केही पूर्वविशिष्टले अहिले पनि कानुनविपरीत सुविधा लिइरहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर