काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादी पार्टीका नेताहरूले आगामी चुनावअघि नै पार्टी एकताको तयारी गरेका छन् । चुनावअघि पार्टी एकता नभएपनि चुनावी सहकार्यको सम्भावना बलियो बन्दै गएको नेताहरुले बताएका छन् । दुवै पार्टीका नेताहरू सम्भावित सहकार्यको ढोका खोल्न लालायित रहेको उनीहरूका पछिल्ला अभिव्यक्तिले संकेत दिइरहेको छ ।
नेकपा एसका नेताहरू राजनीतिक र कानुनी रूपले आफ्नो पार्टीको अस्तित्व स्वीकारेर आए एमालेसँग एकता वा सहकार्यको संवाद अघि बढ्न सक्ने बताउन थालेका छन् । शनिबार मात्रै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग संवाद र एकताका लागि पार्टीले विभिन्न सर्तहरू अघि सारेको पत्रकारहरूसमक्ष जानकारी दिए ।
केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसित उनले एकताका लागि संवाद सुरु गर्न सबैभन्दा पहिले राजनीतिक र कानुनी रूपमा एमालेले एकीकृत समाजवादी पार्टीको अस्तित्व स्वीकार गर्नुपर्ने बताए । कानुनी र राजनीतिक रूपमा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा र अस्तित्व स्वीकार नगरेसम्म एकताका लागि कुनै संवाद हुन नसक्ने उनको भनाइ थियो ।
‘एमालेले हामीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसलाई फिर्ता लेओस् र राजनीतिक दल हो भनेर मान्यता दिन्छ भन्ने निर्णय र अभिव्यक्ति आउनुपर्छ अनि सहकार्यको सम्भावना रहन्छ’, उनले भने ।
सबैसँग सहकार्य गर्ने तर शरण नपर्ने बताउँदै उनले अगाडि भने, ‘सहकार्य गर्न खुला छौँ । सबैसँग छलफल गर्न खुला गर्नेछौँ । पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो । तर पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्नेछौँ । देशभक्त र वामपन्थीहरूसँग व्यापक सहकार्य चाहन्छौँ ।’
एमालेले संवादलाई थप अगाडि बढाउन संसद् विघटनदेखिका सबै क्रियाकलापहरूबारे आफ्नो धारणा प्रस्ट पार्नुपर्ने पनि उनले बताए । यता एमाले नेताहरूले पनि एकीकृत समाजवादीसँग एकताको ढोका खुला रहेको आशय व्यक्त गरेका छन् ।
अवैध गर्भाधारणबाट जन्मेको सन्तानको संज्ञा दिने एमाले नेताहरू अहिले नेकपा एसको राजनीतिक अस्तित्व स्वीकार्ने चरणमा पुगिसकेका छन् । एक अनलाइनलाई दिएको अन्तर्वार्तामा एमाले महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीसँग पानी बाराबारको स्थिति आफूहरूले अन्त्य गरिसकेको बताएका छन् ।
ुपानी बाराबारको स्थितिलाई हामीले अन्त्य गर्यौँ । अवैधानिक रूपमा जन्मेको हुनाले हाम्रो विरोध थियो । स्थानीय चुनावबाट म्यान्डेट प्राप्त गरेपछि त्यो असहमति अब अन्त्य भयो’, अन्तर्वार्तामा पोखरेलले भनेका छन्, ‘अब राजनीतिक पार्टीका रूपमा ३ प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेको एउटा दलका रूपमा एकीकृत समाजवादी अस्तित्वमा आयो । जनताले दिएको म्यान्डेटलाई हामी सम्मान गर्छौं ।’
तर एकीकृत समाजवादीका राजनीतिक एजेन्डाहरू, स्वार्थ र उद्देश्यहरू गलत छन् भन्ने कुरामा आफूहरूको विश्लेषण कायमै रहने उनले बताए । स्थानीय तहको चुनावी परिणामबाट एमाले र एकीकृत समाजवादी दुवै दल सन्तुष्ट छैनन् । नेकपा एसले पाँचदलीय सत्ता गठबन्धनबाट राम्रो साथ नपाएको विश्लेषण गरेको छ भने सत्ता गठबन्धन एक भएकै कारण आफ्नो सिट घटेको एमालेको बुझाइ छ ।

