काठमाडौँ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई लेखेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ । उक्त पत्र बिहीबार सार्वजनिक भएपछि सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले उच्च सैनिक अधिकृतहरुसँग आकस्मिक परामर्श गरेका थिए । त्यसपछि क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई सम्बोधन गरेर पठाएको पत्र आधिकारिक भएको सेनाले जनाएको हो । क्षत्रीले अमेरिकालाई २०७२ साल कात्तिक १० मा स्टेट पार्टनरसिप प्रोग्राम ‘एसपीपी’ को लागि पत्राचार गरेका थिए ।

सैनिक प्रवक्ता नारायण सिलवालले उक्त पत्र शतप्रतिशत आधिकारिक रहेको बताए । त्यो पत्राचार विशुद्ध क्षमता अभिवृद्धिको लागि मात्र रहेको उनले बताए । उनले पत्रमा त्यसबारेमा प्रस्ट पारिएको समेत बताए ।
प्रवक्ता सिलवालले सरकारसँग स्वीकृति लिएरमात्र निश्चित कामहरु सेनाले गरेको उल्लेख गर्दै पत्राचार गर्दा कुनै एलाइन्स वा सम्झौता गर्छु भनेर केही पनि उल्लेख नभएको बताए । त्यस बेलाको अवस्थामा इन्डो–प्यासिफिक रणनीति आइसकेको थिएन । अहिले सबै कुराहरु उक्त रणनीतिमा जोडेर हेर्ने गरिएको र ‘त्यस बेला नेसनल गार्डसँग अनुभव साट्नका लागि मात्र गरिएको प्रवक्ता सिलवालले बताए ।
उनले सेनाले बुधबार जारी गरेको विज्ञप्ति यथावत रहेको पनि बताए । सिलवालले नेपाली सेनाले एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको र त्यस्तो प्रक्रियासमेत नभएको फेरि प्रस्ट पारेका छन् । उनले बुधबार निकालेको पोजिसन नै सेनाको यथावत विचार रहेको बताए ।

