काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य रामसिंह श्रीसले नेपालको जातीय समस्या वर्गीय समस्याको विस्तारित रुप भएको विश्लेषण गर्दै नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना नभएसम्म यहाँका आदिवासी जनजातिहरुको वास्तविक मुक्ति सम्भव नरहेको विचार व्यक्त गर्नुभएको छ । रुस र चीनमा सर्वहारावर्गको राज्यसत्ता स्थापना भएपछि त्यहाँका आदिवासी जनजातिले आफ्नो वास्तविक मुक्तिको अनुभूति गर्न पाएको चर्चा गर्दै उहाँले नेपालका आदिवासी जनजातिहरुले आफ्नो मुक्तिका निम्ति जातीय मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानुपर्ने बताउनु भयो ।

उहाँले आदिवासी जनजाति आन्दोलनलाई मजदुर र किसान आन्दोलनसँग एकाकार गरेर अगाडि बढाए मात्र यो आन्दोलनले सही गन्तव्य हासिल गर्न सक्ने पनि बताउनु भयो । उहाँले सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुको आन्दोलनलाई पनि नेपालमा नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी आन्दोलन, संघर्ष वा क्रान्तिसँग जोडेर अगाडि बढाउनु पर्ने र सर्वहारावर्गको राज्यसत्ताको स्थापनाको दिशातर्फ अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

