वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
जनता जाग्न ढिलो भइसक्यो
Prabhu Bank AD

 

 

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । यही अभिव्यक्तिको विषयलाई लिएर संसदको प्रतिपक्षी दलहरुले राजिनामाको माग गरिरहेका छन् । प्रधानमन्त्रीको राजीनामा माग्नेमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेलाई रास्वपा र राप्रपाले पनि साथ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनीहरुले उद्घोष गरेका छन् । केपी ओली हुन् वा शेरबहादुर देउवा, प्रचण्ड हुन् वा अरु कुनै बहादुर जो नेपालको प्रधानमन्त्री बन्न चाहन्छ, उसले दिल्लीको आशीर्वाद पाउनै पर्छ । दिल्ली दाहिना नभइकन नेपालमा कोही पनि व्यक्ति प्रधानमन्त्री हुन सक्दैन भन्ने कुरा एमालेका अध्यक्ष केपी ओलीलाई पनि राम्रोसँग थाहा छ, र कांग्रेस लगायत अन्य संसदवादी पार्टीहरुलाई पनि यसको राम्रो हेक्का छ । उनीहरुले देशको प्रधानमन्त्री र राष्ट्रपति बन्न विगतमा दिल्लीका शासकहरुलाई चिल्लो घसेकै हुन्, पाउ मोलेकै हुन, दिल्लीका शासकहरुसँग लम्पसार परेकै हुन्, दिल्लीका शासकहरुलाई रिझाउन नेपालमन नदीनाला, प्राकृतिक सम्पदा कौडीको मूल्यमा बेचेकै हुन् । बरु विगतका राजा, राणा, कांग्रेस, राप्रपा र एमालेहरुकै प्रचण्डले पनि सिको गरे । पुराना दलालहरुको ठाउँमा नयाँ दलाल बन्ने दौडमा लागे । पुराना दलालहरुको स्थान नयाँ दलाल ९प्रचण्ड०हरुले खासेपछि एमाले कांग्रेसहरु आत्तिएका मात्र हुन् । राष्ट्रवादी जनतालाई बेवकुफ बनाउन उनीहरुले अहिले संसदमा नाटक मात्रै मञ्चन गरिरहेका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदमा भएका प्रायः सबै पार्टीहरुले एकमतका साथ पास गरेकै हुन् । महाकाली बेची खाने यिनै केपी ओली हुन् । जनताको व्यापक दबाबका कारण लिम्पियाधुरा–लिपुलेक–कालापानीको नक्सा जारी गरे पनि यस सम्बन्धमा आफू सरकार प्रमुख हुँदा भारतीय शासकसँग कुरा नगर्ने केपी ओली पनि हुन् । आम जनताले के बुझ्न जरुरी छ भने संसदवादी दलहरु सबै एउटै ड्याङका मुला हुन् । यो देशमा जनघात र राष्ट्रघातका अंशियार यिनीहरु सबै छन् । धेर थोरको मात्र कुरा हो । भ्रष्टाचारमा सर्वदलीय सहमति छ । अनि राष्ट्रघातमा पनि सर्वदलीय सहमति नै छ । यिनीहरु कसैले पनि संसदमा नाटक र नौटंकी प्रदर्शन गर्नुको कुनै तुक छैन ।

जबसम्म नेपाली स्वाभिमानी जनताले यो यथार्थलाई गहिरोसँग बोध गर्दैनन् र नेपाललाई स्वाधीन र आत्मनिर्भर बनाउनका निम्ति देशमा आमूल परिवर्तनको आन्दोलनमा सहभागी हुँदैनन् । नेपाल देश रहँदैन थाहै नपाई उपनिवेश भइसक्छ । अघोषित रुपमा अहिले पनि नेपाल भारत र अमेरिकाको गुलामै जस्तो छ । उनीहरुकै एकाधिकार र बर्चस्व स्थापित भइरहेको छ । राष्ट्रिय स्वाधीनताको अवस्था निकै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । जनताका अधिकार खोसिने क्रममा छन् । जनताका दैनिक समस्याहरु विकराल बनेका छन् । यसप्रति संसदवादी दलहरुलाई कुनै चिन्ता चासो छैन । उनीहरु दिनरात केवल सत्तास्वार्थमा केन्द्रित भएका छन् । सारा जनताको दुःखको कारण यही दलाल संसदीय व्यवस्था बनिरहेको छ । आज कुनै पनि युवाले देशभित्र भविष्य देख्न छाडिसकेको छ । आज हरेक घरमा अमेरिकी, युरोपियन मुलुक र अस्ट्रेलियन मुलुकका नागरिक जन्मिन थालेका छन् । स्वदेशी भन्दा पनि विदेशी नागरिक बन्न पाएकोमा नेपालीहरुले गर्व गर्न थालेका छन् । युवाहरुलाई विदेशमा बेचेर उनीहरुले पठाएको रेमिट्यान्समाथि मुठ्ठीभर छट्टुहरुले ऐस आराम मोजमस्तीको जिन्दगी बिताइरहेका छन् । पुराना संसदवादी दलहरुको भ्रष्ट, नालायक र निकम्मापनको नयाँ संसदवादी दलहरुले फाइदा लिन खोजिरहेका छन् । तर उनीहरु पनि उही ड्याङका मूला हुन् भन्ने कुरा जनताले बुझ्दै पनि गइरहेका छन् । पुराना संसदवादीहरुको विकल्पमा नयाँ संसदवादी दलहरु खडा गरेर साम्राज्यवादी र विस्तारवादीहरुले आफ्ना नयाँ नयाँ दलालहरु तयार पारिरहेका छन् । जनता उनीहरुको भ्रममा पर्नु हुँदैन । घटनाक्रमले यसको अझ राम्रोसँग पुष्टि गर्दै लैजानेछ ।

भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादको प्यादामा परिणत भइसकेको यो दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गरेर त्यसको ठाउँमा नेपाली सर्वहारा, श्रमजीवी जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने र वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अघि नबढी नेपाल र नेपाली जनताको सारा समस्याको हल हुन सक्दैन । अग्रगामी र क्रान्तिकारी शक्तिहरु, सच्चा देशभक्तहरुको वृहत मोर्चा आजको ऐतिहासिक आवश्यकता हो । यस दिशातर्फ अगाडि बढ्ने संकल्प हरेक सच्चा नेपालीले गर्नै पर्दछ । वैदेशिक रोजगारीमा गएका हरेक युवाहरुले, उच्च शिक्षाका लागि विदेशीएका हरेक युवाहरुले देशको शासनव्यवस्थाको आमूल परिवर्तनको पक्षमा आफूलाई उभ्याउनै पर्दछ । जनता नै इतिहासका निर्माता हुन् । व्यक्तिमा हैन विकल्पको खोजी व्यवस्थामा खोज्नुपर्छ । अढाईसय वर्षको लामो सामन्ती राजतन्त्रात्मक शासन ढालेका जनतालाई यो दलाल संसदीय सत्ता फाल्न कुनै बेर लाग्दैन । जे हुन्छ, जनता जागेपछि हुन्छ । जनता जाग्न अब ढिलो भइसक्यो । भ्रष्ट, नालायक, निकम्मा संसदवादी नेताहरु, शासकहरु र पार्टीहरुलाई अब जनताले लखेट्ने बेला आइसक्यो ।

Prabhu Bank AD

सम्बन्धित खवर