काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक सिमाना जति अग्लो छ। त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध रहेको बताएका छन्।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।
उनले भने,’ यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो। योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो। यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ। सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो। योभन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन। तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ। त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ। हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ।’
मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै विस्तार र सुदृढ बनाउनुपर्ने समेत बताएका हुन्।

