वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
माधव नेपालले गरे समाजवादी मोर्चामा सहभागी हुने निर्णय
Prabhu Bank AD

 

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले समाजवादी मोर्चामा सामेल हुने औपचारिक निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सहित दलहरूबीचमा सहकार्य गर्ने गरी बन्ने मोर्चामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चामा सामेल हुने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।

बैठकले समाजवादी मोर्चाबारे त्यसका सैद्धान्तिक र व्यवहारिक पक्षहरुमाथि समेत छलफल गरी मोर्चा बनाउने विषयमा औपचारिक निर्णय भएको उनले बताए ।

‘संसद्‍‌भित्र र संसद्‌बाहिर पनि समाजवादी विचारधारा निर्माण गर्ने र त्यसको प्रचारप्रसार गर्ने काम मोर्चाको हो । देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनताका मागहरूलाई सम्बोधन गर्ने विषयमा नेतृत्व गर्ने उदेश्यले मोर्चा बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले हामीले पार्टी एकता गर्ने उद्देश्यले यो मोर्चा बनाउन खोजेका होइनौँ, यसले खाली समाजवादी यात्रामा अघि बढ्न सहज होस् भन्नेमात्रै हो ।’

मोर्चामा रहेका दलहरूबीच पार्टी एकता वा सहकार्यको थप वातावरण बनेर जान सक्ने सम्भावनालाई भने कसैले रोक्न नसक्ने उनको भनाइ छ ।उनका अनुसार मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित दलहरू मोर्चामा सामेल हुने विषयमा छलफल भइरहेको छ । ‘अहिले हामीहरूबीच छलफल नै चलिरहेको छ । तर अब ढिला गर्नु हुँदैन भन्ने हो, ‘केही दिनभित्रै टुंगोमा पुग्छौँ ।’

उनले मोर्चामा अहिले नै एमाले पनि सहभागी हुने गरी भने कुनै छलफल नभएको बताए । ‘यसबारे एमालेसँग संवाद भएको छैन । तर सबै कम्युनिस्ट दलहरू एकीकृत भएको अवस्थामा एमाले पनि बाहिरै रहिरहन्छ भन्ने लाग्दैन,’ उनले भने ।

Prabhu Bank AD

सम्बन्धित खवर