वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
निगमका जहाज थप्न नदिन किन षड्यन्त्र भइरहेको छ ? ः मन्त्री किराँती
Prabhu Bank AD

 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताएका छन् । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ उनले खुलाएनन् । तर मन्त्री किराँतीले निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको इङ्गित गरे ।

‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ,’ मन्त्री किराँतीले भने, ‘किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’ निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीले बताए । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए ।

भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको भन्दै उनले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने आश्वासन दिए । बौद्ध धर्मावलम्बीको बाहुल्य भएका थाइल्यान्ड, कम्बोडिया, श्रीलंकामा सिधा हवाई उडानका लागि पनि पहल भइरहेको मन्त्री किरातीले बताए ।

मन्त्री किराँतीले विमानस्थल नियमित र पूर्ण क्षमतामा सन्चालनका लागि प्रचार र बजारीकरण १० गुणाले बढाउन कर्मचारीलाई निर्देशनसमेत दिए । ‘भएका विमानहरुलाई घाममा सुकाएर राख्ने छुट छैन,’ उनले भने ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको लिखित मन्तव्य बाचन गर्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा निजी क्षेत्रले पर्यटन, कृषि र अन्य व्यवसायमा करिब ८० अर्ब लगानी गरेपनि व्यवसाय संकटमा परेको हुँदा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाज सन्चालनमा योगदान पुर्याएको भन्दै पूर्वनागरिक उड्डयन मन्त्रीसमेत रहेका दीपक बोहरालाई मन्त्री किँरातीले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर