काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दाको थुनछेक बहसका लागि आरोपितहरू बालकृष्ण खाण‚ टोपबहादुर रायमाझीलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको थियो ।
थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।
थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पूर्पक्षका क्रममा कारागार पठाउने टुंगो लाग्छ ।

