काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट पनि खतरा नरहेको दाबी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिर गएर सर्वसाधारणको भावनाको उपयोग गर्न खोजेर राजगद्दी फिर्ता हुने सपना नदेख्न पनि खनालले सुझाव दिएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दलका नेता खनालले पूर्वराजा शाहलाई पार्टी खोलेर वा राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापति भएर राजनीति गर्न सुझाएका हुन् । उनले गणतन्त्रले आफ्नो दिशा सहीरूपमा लिइरहेको छ कि छैन भन्ने कुराको भने समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।
मुलुकमा गणतान्त्रिक व्यवस्था फल्दैफूल्दै अगाडि बढेको र यसको भविष्य उज्ज्वल भएको पनि खनालको भनाइ थियो । ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले राजा होइनन्, खाली ज्ञानेन्द्र शाह हुन् । उनी मन्दिर मन्दिर जान्छन् । मन्दिरमा हाम्रो देशका आस्था विश्वास राख्ने धेरै दाजुभाइ दिदिबहिनी भइहाल्छन् । त्यो ठाउँमा जाँदाखेरि अलि धेरै मानिसहरूसँग भेट हुन्छ । ती मान्छेहरुको भावनालाई उपयोग गर्ने ढंगले मन्दिर जान्छन् । अहिले अभिन्दन खाने भनेर हिँड्दैछन् । यी सबै कुराहरू कसरत त गर्नुस् ज्ञानेन्द्र शाहजी तर यसबाट फेरि हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना देखेको छ भने दिँउसै आकाशतिर हेरेर देखेको सपना हुन्छ, यो प्राप्त हुँदैन, खनालले सुझाव दिए, पार्टी खोल्नुस् या राप्रपाको अध्यक्ष बन्नुस् । राप्रपाको अध्यक्ष बनेर संसद्मा आउनुस् । संसद्मा आएर आफ्ना कुरा राख्नुस्, त्यो लोकतान्त्रिक बाटो हो । तर यो अभिन्दनको बाटो र मन्दिरमा गएर मूर्ति पूजा गरेर राजतन्त्र फर्किनेवाला छैन । कुनै हालतमा पनि फर्किने वाला छैन ।
पूर्वराजा शाह पार्टी खोलेर वा पार्टी राजनीतिमा आबद्ध भई जनताबाट निर्वाचित भएर संसद्मा आए सम्मानको कुरा हुने खनालको भनाइ थियो । पूर्वराजा शाहले देखाएका गतिविधिले लोकतन्त्र र गणतन्त्रमाथि त्यत्रो ठूलो खतरा कसैले महसुस नगर्ने खनालले बताए ।
गणतन्त्रका लागि लडेका शक्तिहरूले आगामी कार्यदिशा के हुने भन्ने विषयमा समीक्षा गर्नुपर्ने पनि खनालको धारणा थियो । हामी लोकतन्त्र ल्याउनका लागि गणतन्त्र ल्याउनका लागि लडेका शक्तिले १५ वर्षको हिँडाइ ठिक भयो कि भएन, संविधान बमोजिम भयो कि भएन भन्ने कुराको समीक्षा गर्नुपर्छ उनले भने ।
त्यस्तै, पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका छन् । आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भुमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको पनि उनको भनाइ थियो । ‘घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ उनले भने, ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरू हुन् । देशमा आउँदै गरेको अराजकताका । यो देशका जुन ठूला पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन् । त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो । नयाँ भिजनका साथ दशेलाई अघि बढाउनुपर्छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी पनि पूर्वप्रधानमन्त्री खनालले दिएका छन् । नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको पनि उनले बताए । ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ, उनले भने, यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ ।

