काठमाडौं । भाले बासेकै थिएन, बिहान ३ बजे नै रोल्पाको रुन्टीगढी–२ की मनकला विकले हिँड्ने सुरसार कसिन् । काफलको भारी बोकेर साढे ६ घण्टा पैदल यात्रा गर्नु थियो । गाउँबाट हिँडेपछि बिहानको खाना खाने बेलासम्म स्वर्गद्वारी पुगिन्छ । खाजा, खानादेखि साँझ घर नफर्कंदासम्मको जोहो गरेर स्थानीय आधा दर्जन दिदीबहिनीसँगै उनी स्वर्गद्वारीतर्फ लागिन् । उनीहरू बिहान साढे ९ बजे स्वर्गद्वारी आइपुगे ।
विकको समूह आइपुग्दा त्यहाँ छिमेकी गाउँका केही महिलाले काफल बेच्न थालिसकेका थिए । उनीहरू पनि बसे, भारी फुकाए, काफल बजार सुरु भयो । थकानलाई थाती राख्दै ग्राहक बोलाउन सुरु गरेका उनीहरू साँझसम्म स्वर्गद्वारी मन्दिरको गेटनेर थिए ।
स्वर्गद्वारी दर्शन गर्न आउनेले काफल मन पराउँछन् । यहाँ एउटा चिया गिलासको काफल ५० रुपैयाँमा बिक्री हुन्छ । टिपेर ल्याउन सके राम्रै व्यापार हुने विकले सुनाइन् । काफल पाइने याम घर खर्च सहज हुने उनी बताउँछिन् । ‘सिजनमा राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘एक दिन टिप्न पर्यो, अर्को दिन बेच्न लग्यो ।’ स्वर्गद्वारीमा तीर्थालु बढ्दा काफल व्यापार बढ्ने उनले बताइन् । एक सिजनमा काफल बेचेर करिब ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
हिजोआज विकजस्तै स्वर्गद्वारीमा दैनिक १५ देखि २० जना महिला काफल बेच्न बसेका भेटिन्छन् । प्यूठान र रोल्पाका विभिन्न गाउँबाट काफल बेच्न महिलाहरू स्वर्गद्वारी आउने गरेका हुन् । गाउँबाट सात घण्टासम्म हिँडेर स्वर्गद्वारी आउने गरेको प्यूठानको स्वर्गद्वारी–१ कोचिबाङकी रामकली सेनले बताइन । ‘गाउँमा आम्दानीको अरू माध्यम छैन, काफल बेचेर केही हुन्छ कि भनेर ल्याउने हो,’ उनले भनिन्, ‘त्यही पनि कहिले त साँझसम्म बिक्दैन, फर्काएर लैजानुपर्छ ।’ अहिले वनमा काफल पाक्ने याम हो । प्यूठानको स्वर्गद्वारी नगरपालिका र रोल्पाका विभिन्न स्थानका जंगलबाट काफल संकलन गर्नेहरू धेरै हुन्छन् । खर्च चलाउने माध्यम बनेकाले बेच्ने बढेका छन् । यस क्षेत्रका महिलाले सिजनमा काफल बेचेर ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको सेनले सुनाइन् । ‘वनको काफलले घर खर्च चलाउन सघाएको छ,’ उनले भनिन् ।
काफलको स्वाद मिठो भए पनि संकलक कतिपयको अनुभव नमिठो छ । टिप्ने क्रममा कोही रूखबाट लड्छन् । सेनले भनिन्, ‘ज्यान हत्केलामा राखेर रूख चढ्नुपर्छ ।’ मनकला र रामकलीजस्ता महिलाहरू रुख चढ्छन् र काफल टिप्छन् । एक दिनभरि काफल टिपेर अर्को दिन राति नै स्वर्गद्वारी बजार आइपुग्छन् । यहाँका जंगलमा हरेक सिजनमा केही न केही फल्छन् । काफल, तेजु, ऐंसेलु यस क्षेत्रको जंगलमा प्रशस्त पाइन्छन् ।
स्वर्गद्वारीमा हिजोआज भारतीय र आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । दर्शनार्थीको रोजाइमा अहिले यहाँको काफल पर्ने गरेको छ । तर, व्यवस्थित बेच्ने ठाउँ नहुँदा भीडभाड र सडक छेउमै बस्नुपरेको गुनासो उनीहरूको छ । बाटोमा बसेर बेच्नुपरेकाले कतै व्यवस्थित ठाउँ भइदिए सहज हुने रोल्पाकी ठगी सुनारले सुनाइन् । भीडभाडमा बस्दा पैदलयात्रीको हूलले च्याप्छ कि भन्ने डर हुने उनले बताइन् । स्वर्गद्वारी नगर प्रमुख टेकप्रसाद भण्डारी धरमपानीमा काफल बेच्न आउनेहरूलाई एकै लहरमा राख्ने व्यवस्था मिलाइएको बताउँछन् ।

