काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको सम्पूर्ण खर्च आफैँ व्यहोर्ने बताएका छन्। मंगलबार राष्ट्रपतिको सचिवालयले प्रेस नोट जारी गर्दै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार गराउँदा भएको सम्पूर्ण उपचार खर्च आफैं व्यहोर्ने बताएका हुन्।
गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछी पौडेल पटक–पटक त्रिवि शिक्षण अस्पताल र पछिल्लोपटक दिल्ली पुगेर उपचार गराएका थिए। उनको उपचारमा करोडौं खर्च भएको भन्दै आलोचना शुरु भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत राष्ट्रपतिले आफैं खर्च व्यहोर्दा उचित हुने बताएका थिए।

