वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
यसरी नेपालमै उत्पादित सवारीको दर्ता गर्न सकिने
Prabhu Bank AD

 

 

काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कार्यविधि संशोधन गरेको छ।

यातायात व्यवस्था विभागको बुधबारको निर्णयअनुसार कार्यविधि संशोधन गरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेको जानकारी गराएको छ।

‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन’, संशोधन कार्यविधिको बुँदा १ मा उल्लेख गरिएको छ।

दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्यअभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले अब नेपालमै उत्पादन भएका सवारी साधन दर्तामा समस्या नहुने बताए।

‘मुख्य समस्या सवारी दर्तामा प्रज्ञापनपत्र चाहिने व्यवस्था रहेको थियो। अब त्यसको सट्टा मूल्यअभिवृद्धि बीजक भए दर्ता हुन्छ’, पनेरुले भने, ‘यातायात कार्यालयले दर्ता गर्नुपर्छ।’

Prabhu Bank AD

सम्बन्धित खवर