काठमाडौं । संंसदबाट एमसिसि जस्तो मुलुकलाई घातक हुने परियोजना सम्झौतालाई पास गर्नु इतिहासकै ठूलो राष्ट्रघात भएकाे भन्दै प्रगतिशील रुपान्तरण आन्दोलनका संयाेजक श्याम श्रेष्ठले सबै देशप्रेमी नागरिकलाई यो संंसदीय अनुमोदनको सशक्त बिरोध गर्न सार्वजनिक आह्वान गर्नु भएकाे छ ।
साेमबार एक वक्तव्य जारी गर्दै संयाेजक श्रेष्ठले भन्नुभएकाे छ, “सत्ता गठबन्धनमा रहेका संंसदीय राजनीतिक दलका नेताहरूले आफ्नो अनुहारमा आफैैले कहिल्यै नपखालिने गरी कालो पोत्ने काम गरेका छन् । संंसदबाट एमसिसि जस्तो मुलुकलाई घातक हुने परियोजना सम्झौतालाई पास गर्नु इतिहासकै ठूलो राष्ट्रघात हो । यसले नेपालको सार्वभौमसत्तालाई अरू धेरै खुम्च्याउने, नेपाललाई अमेरिका र चीनको भीषण द्वन्द्वको मैदान बनाउने र असंंलग्न राष्ट्र नेपाललाई अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिको हिस्सा बनाउने कार्य गर्ने छ। अहिलेसम्म निजीकरणबाट बचेको शक्तिशाली नेेपाल विद्युत प्राधिकरणलाई बिभाजित र कमजोर बनाउँदै उर्जा क्षेत्रलाई निजीकरण र नवउदारीकरणको दलदलमा डुबाउने छ ।”
सत्तान्धताका कारण नेताहरूमा एमसिसीको ब्याख्यात्मक टिप्पणीको कुनै कानुनी हैसियत नहने कुराकाे समेत ख्याल नरहेकाे उल्लेख गर्दै यसलाई जनताको आँखामा छारो हाल्ने र भ्रम छर्ने प्रयास मात्र भएकाे वक्तव्यमा उल्लेख गर्नुभएकाे छ ।

