वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
संकटमा अमेरिकी अर्थतन्त्र : एकपछि अर्को धराशायी बन्दै अमेरिकी बैंक

 

काठमाडौं । सन् २००८ को आर्थिक मन्दीपछि वित्तीय संकटले थलिएको विश्वमा १४ वर्षपछि पुन: अर्को आर्थिक संकट देखा पर्न थालेको छ। बैंकहरू धराशायी भएका छन् भने यसले कारोबारमा प्रत्यक्ष असर पार्न थालेको छ। केही अर्थविद्ले विश्व आर्थिक संकटको नजिक रहेको प्रक्षेपण गरिरहँदा हालै शृंखलाबद्ध रूपमा अमेरिकी बैंक धराशायी भएका खबरले उक्त अनुमानलाई थप बल दिएको छ।

बैंकिङ क्षेत्रको कमजोर नियमनलाई पश्चिमा मिडियाले अहिलेको आर्थिक संकटको कारकका रूपमा विश्लेषण गरेका छन्। कतिपय अर्थविद्हरूले भने अन्तर्राष्ट्रिय बैंकिङ संकट र आर्थिक मन्दी शुरू भइसकेको चेतावनी दिएका छन्।

मार्च ९ ‍मा अमेरिकाको १६ औँ ठूलो सिलिकन भ्याली बैंक ९एसभीबी० एकाएक आर्थिक संकटमा परेको खबर बाहिरियो। बैंकबाट एकैदिन बचतको ४२ बिलियन डलर गायब भएको थियो। त्यसपछि २२९ अर्ब डलरको नोक्सानीसहित एकै सातामा अमेरिकी बैंकहरूको बजार मूल्यमा १७ प्रतिशतको गिरावट देखिएको इकोनोमिस्टले लेखेको छ।

सेवाग्राहीहरूले आफ्नो रकम सुरक्षित भएरनभएकोबारे प्रश्न उठाइरहेका छन्। अमेरिकी सरकारले बचतकर्ताको रकमको ग्यारेन्टी दिने प्रतिबद्धता जनाइसकेको छ। अमेरिकी केन्द्रीय बैंकले आगामी समरमा ब्याजदर घटाउने योजनासमेत बनाएको छ।

स्थापनाको ४० वर्षसम्म सेवाग्राहीमाझ विश्वसनीय बैंकका रूपमा चिनिएको एसभीबी विशेष गरी प्राविधिक कम्पनीहरूलाई कर्जा दिने बैंकका रूपमा परिचित छ।

बैंकमा बचतकर्ताको लगानीसहित स्विडेन सरकारले पेन्सनबापत जम्मा गरेको १ अर्ब डलरसमेत डुबेको बताइएको छ।

यस्तै, अमेरिकी अर्बपति पिटर थियलले फाइनान्सियल टाइम्ससँग गरेको कुराकानीमा एसभीबीमा आफ्नो ५० मिलियन निजी सम्पत्ति फसेको दाबी गरेका छन्। बैंक डुब्दैन भन्ने लागेर सो रकम बैंकमा राखेको उनको भनाइ थियो। साथै, थियलको फाउन्डर्स फन्ड नामक परामर्शदाता कम्पनीले एसभीबीबाट ठूलो रकम निकालेका कारण पनि बैंक डुबेको हुनसक्ने अनुमान गरिएको छ। यसअघि उनले आफ्नो हिस्साको ४ अर्ब डलर सो बैंकमा राखेको बताएको द गार्डियनले उल्लेख गरेको छ।

अमेरिकी डेमोक्रेट सांसद मार्क वार्नरले आइतबार एबीसी न्युजसँगको कुराकानीका भनेका थिए, “बिहीबार एकैदिन बैंकबाट ४२ अर्ब डलर बाहिरिएको छ। यसका पछाडि कुनै खेलाडी हुनुपर्छ। एकदमै छोटो समयमा यस्तो भएको छ।”

यो सन् २००८ पछि वित्तीय संकटमा फसेको पहिलो तथा अमेरिकी इतिहासकै ठूलो बैंक पनि हो। एसभीबी धराशायी हुँदा अमेरिका र अन्तर्राष्ट्रियस्तरमा भर्खरै व्यवसाय शुरू गरेका कम्पनीहरूलाई अत्यधिक प्रभाव परेको छ। एसभीबीपछि धराशायी भएका अर्का दुई सिग्नेचर र सिल्भरगेट बैंकमा पनि यसको असर देखिएको हो। अमेरिकी बैंक डुब्दा एशिया र युरोपका केही बैंकहरूको सेयरमा पनि उतारचढाव देखिएको थियो।

त्यसलगत्तै, स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक क्रेडिट स्वीसको सेयर मूल्यमा पनि गिरावट आयो। क्रेडिट स्वीसको सेयर पछिल्लो छ महिनायता निरन्तर रूपमा घटिरहेको छ भने सेवाग्राहीले पनि व्यवसायबाट हात झिक्दै रकम फिर्ता लिने गरिरहेका थिए। केही समयअघि मात्रै स्वीस बैंकमा ९।८८ प्रतिशत सेयर रहेको साउदी नेशनल बैंकले पनि नियामक पक्षलाई ध्यानमा राख्दै स्वीस बैंकका थप सेयर नकिन्ने बताएको थियो। जुन विश्वको बैंकिङ प्रणालीका लागि नराम्रो खबर बन्न पुग्यो।

यस्तै, यसै साता अर्को अमेरिकी क्षेत्रीय बैंक फर्ट रिपब्लिकको सेयरमा पनि ७० प्रतिशतसम्मको गिरावट देखियो। तर बैंकलाई धराशायी हुनबाट जोगाउन अमेरिकी ठूला बैंकहरूले ३० बिलियन डलर लगानी गरेका छन्। यसरी ठूला बैंकहरूको सहयोगलाई अमेरिकी नियामक निकायहरूले स्वागत गर्दै यसले बैंकहरूको मनोबल बढाएको प्रतिक्रिया दिएका छन्।

यसअघि अमेरिकी सरकारले आर्थिक संकटमा फसेको एसभीबी बैंकका बचतकर्ताको रकमको सुनिश्चितता हुने ग्यारेन्टी गरेको थियो। तर अन्य लगानीकर्ता र ऋणीहरूको नोक्सानीबारे भने अमेरिकी सरकारले कुनै कदम उठाएको छैन। यसले बचतकर्तालाई केही राहत महसुस गराए पनि ऋणदातामा भने त्रास थपेको छ।

धराशायी भएसँगै एसभीबी बैंक सरकारी नियन्त्रण गइसकेको छ भने सरकारले बैंक बेच्ने तयारी गरेको छ। अन्य बैंकहरूको वित्तीय संकट के हुने भन्ने विषय बिस्तारै सतहमा आइरहेको छ।

अमेरिकी बैंकहरू शृंखलाबद्ध रूपमा धराशायी हुँदा त्यहाँको बैंकिङ प्रणालीप्रति चिन्ता बढेको छ।

अमेरिकी बैंकहरूको खराब स्थितिले जोखिम बढेको भन्दै मार्च १५ का दिन स्वीजरल्यान्डको दोस्रो ठूलो ऋणदाता बैंक क्रेडिट स्वीस बैंकको सेयरमा २४ प्रतिशतको गिरावट देखा पर्‍यो।

अमेरिकी बैंकहरू डुब्दा त्यसको असर एशियाली र युरोपेली बैंकहरूमा समेत देखिएको छ। विशेष गरी बैंकिङ क्षेत्रका सेयर बढी प्रभावित भएका छन्।

भारतमा पनि सेयर सूचकांक बिहीबार ३४४ अंकले घटेको दैनिक भास्करले लेखेको छ। यता, स्वीस बैंकलाई ५३ बिलियन डलर सहयोग प्राप्त भएपछि भने बिहीबार युरोपेली सेयर बजार केही उकासिएको थियो।

हालै धराशायी भएका अमेरिकी बैंकमध्ये दुइटा बैंक क्रिप्टो कारोबारी बैंक हुन्। यिनीहरूको आर्थिक संकट र अस्थिरताले सिंगो क्रिप्टो उद्योग नै सशंकित देखिएको छ। बैंक टाट पल्टिएसँगै क्रिप्टोलाई परम्परागत वित्तबाट अलग गर्न सकिने विषयप्रति चासो बढेको छ। यसअघि अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली फेडरल रिजर्भसहितका नियामकले अमेरिकामा केही महिना अघिदेखि नै डिजिटल सम्पत्तिको कारोबारको जोखिमप्रति सचेत हुन आग्रह गरिरहेका थिए। यसअघि क्रिप्टो एक्सचेन्ज, एफटीएक्स टाट पल्टिएपछि अहिलेको बैंकिङ क्षेत्रको उथलपुथले क्रिप्टो उद्योगमा नयाँ झट्का पैदा गरेको छ। एफटीएक्सका संस्थापक स्याम बाङकम्यान फ्राइडमाथि भ्रष्टाचार र लगानीकर्ताको रकम हिनामिना गरेको आरोपसमेत लागेको थियो।

त्यसयता सिग्नेचर र सिल्भर गेट बैंकले लगानीकर्ताको परम्परागत बैंकिङ प्रणाली र तुरुन्तै भुक्तानी हुने नेटवर्क दुवै माध्यममार्फत छिटो भुक्तानी गरी डिजिटल सम्पत्तिको पारिस्थितिक प्रणाली सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेका थिए। तर, यी बैंकहरू अहिले धराशायी भएका छन्। साथै, नियामकले अब ती बैंकलाई व्यवसायबाटै हटाउनसक्ने आशंकाबीच अहिले त्यहाँका कार्यकारी नयाँ बैंकिङ साझेदारको खोजीमा छन्।

 

Agni

सम्बन्धित खवर