वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
दुईवर्षे श्रम स्वीकृति हटाइयो, अब दूताबासबाटै पुन: श्रमस्वीकृति गर्न सकिने

काठमाडौँ — सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोपमा तोकिएको दुई वर्षे करारपत्रलाई बिहीबारबाट हटाएको छ । साथै नेपाली दूतावासबाट नै पुन:श्रमस्वीकृति जारी गर्ने निर्णय भएको छ ।

श्रम मन्त्रालयको समेत जिम्मेवारी बोकेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षे करारपत्रलाई हटाएका हुन् । दुई वर्षे करारपत्रको आधारमा श्रम स्वीकृति जारी गर्ने प्रावधान हटेको छ । अब रोजगारदाता र कामदारबीच हुने करारपत्रको आधारमा श्रम स्वीकृति जारी हुनेछ ।

श्रम मन्त्रालयका अनुसार यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित छ । खाडी तथा मलेसियामा नेपाल सरकारले दुई वर्षे करारपत्रमा श्रम स्वीकृति जारी गर्दैै आएको थियो । दुई वर्षे करारपत्र पूरा भएपछि पुन: श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।

मलेसियाको श्रम सम्झौता हुनुभन्दा अगाडि मलेसियामा तीन वर्षे करारपत्रमा श्रमस्वीकृति जारी हुन्थ्यो । श्रम सम्झौतापछि दुई वर्षमा सीमित गराएपछि मलेसियाका रोजगारदाताहरुले अन्य देशबाट कामदार लिन थालेको व्यवसायीहरुको भनाइ छ । दक्षिण कोरियाको लागि चार वर्षे करारपत्रमा कामदार जाने गरेका छन् । इजरायलमा भने ५ वर्षे करारपत्र लिई जाने प्रावधान छ ।

यस्तै श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुन: श्रमस्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेको छ । अब कामदारले बिमा र कल्याणकारी कोषको रकम तिरेपछि दूतावासबाट नै पुन:श्रमस्वीकृति लिन पाउने बाटो खुलेको सचिव अर्यालले बताए ।

श्रमस्वीकृतिको अवधि समाप्त भएपछि मृत्यु, अंगभंग वा बिरामी भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ । यसलाई सम्बोधन गर्न दूतावासबाटै नै पुन:श्रमस्वीकृति दिने व्यवस्था मिलाइएको अर्यालले बताए ।

 

Agni

सम्बन्धित खवर