काठमाडौँ । छोरीले पढाइको अलावा इन्टरनेटमा ज्ञानगुनका कुरा सिक्न पाउँछिन् भनेर अभिभावकले मोबाइल किनिदिएका हुन्छन् । उनी सामाजिक सञ्जालहरू प्रयोग गर्छिन् ।
फेसबुकमा एक जना अपरिचित केटा जोडिन्छ । मेसेन्जरमा च्याट गर्दै गर्दा केटाले बालिकालाई भिडियो कल गर्छ । बालिकाले सुरुमा अनुहार लुकाएर कुरा गर्छिन् । केटाले अनुहार देखाएर बोल्न लगाउँछ । उनी मान्दिनन् । धेरै कर गरेपछि अनुहार देखाएर कुरा गर्छिन् । केटाले चुम्बन गर्न सिकाइ माग्छ । बालिकाले चुम्बन गरेर देखाउँछिन् । केटाले ‘स्क्रिनसट’ गर्छ र फोन काट्छ ।
बालिकाका बुबा पनि सामाजिक सञ्जालमा महिलाका तस्बिरहरुलाई अश्लिल नजरले हेर्न बानी परेका हुन्छन् । उनले जब आफ्नी छोरीको तस्बिर दुरुपयोग गरेर पोस्ट भएको भेट्छन् । छोरीलाई झपार्छन् । उनले वास्तविक कुरा बताउँछिन् । उनले आफ्नो बुबालाई प्रहरीको साइबर ब्युरोमा उजुरी गर्न जाऔं भनेर पनि सुझाउँछिन् । छोरीले केटाको वास्तविक परिचय दिन नसक्ने भएपछि बुबाले खासै वास्ता गर्दैनन् ।
निर्माण कम्पनीमा काम गर्ने पुरुषले उनका महिला कर्मचारीहरुलाई कार्यालयमा भएको बेला कामको बाहानामा यौन शोषण गर्छन् । बिदाको दिन मेसेन्जर र भाइबरमा भिडियो कल गरेर शोषण गर्छन् । यो कुरा उनकी श्रीमतीले थाहा पाएकी हुन्छिन् । यस कुरामा उनीहरूको झगडा पर्छ । अचानक युट्युबरहरू आइपुग्छन् । श्रीमान्ले आफूले श्रीमतीलाई कुटपिट नगरेको भन्दै उल्टै श्रीमतीमाथि आक्षेप लगाउँछन् । युट्युबरले महिलाको व्यक्तिगत चरित्रमाथि प्रश्न गर्दै भिडियो लिन्छन् । युट्युबरको क्यामेरा आफूतिर तेर्सिएपछि श्रीमान्ले श्रीमतीबाट निकै पीडित रहेको नाटक गर्छन् । श्रीमतीले युट्युबरहरूमाथि प्रश्न गर्छिन् । आफूलाई युट्युबमा हाल्न फरक कन्टेन्ट पुग्दो भइसकेकाले युट्युबरहरू आफ्नो बाटो लाग्छन् ।
काठमाडौंभन्दा टाढाको यो गाउँमा जब सबैको हात(हातमा स्मार्ट फोन र इन्टरनेटको पहुँच पुग्यो । इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधको सिकार बनिरहेका छन् महिला र बालिकाहरू । उनीहरू सामाजिक प्रतिष्ठाको डर, कामको उल्झन, उजुरी गर्न जान पायक पर्ने निकाय नपाएर पिरोलिएर बसेका हुन्छन् । साइबर अपराधका उजुरी गर्न काठमाडौं नै आइपुग्नुपर्ने बाध्यताले आफूहरू न्यायिक पहुँचसम्म पुग्न नसकिरहेको गुनासो गर्छन् र मंगलबार पर्यटन बोर्डको हलमा प्रस्तुत भइरहेको नाटकको समापन हुन्छ ।
११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला, कानुन तथा विकास मञ्च र ‘इक्वालिटी नाउ’ ले आयोजना गरेको सचेतना कार्यक्रममा नाटक, कविता, नृत्यको माध्यमबाट महिला सुरक्षाको आवाज उठाइएको थियो । कार्यक्रममा ‘म’ बाट महिलावाद, प्रविधिको प्रयोगले हुने यौनिक तथा लैगिक हिंसाको प्रतिरोधलगायत नारासहित इन्टरनेटको संसारमा हुने अपराध, यौन शोषण, हिंसाले समाजमा कस्तो असर पर्दै छ र यसको नियन्त्रण गर्न राज्यसंयन्त्रले किन प्रभावकारी तदारुकता देखाइरहेको छैन भन्ने आशय प्रस्तुत गरिएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यस वर्षको नारी दिवसका लागि ‘लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा सार्वजनिक गरेको छ ।

