काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको र नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएकोसमेत बताए । साथै खेल क्षेत्रको विकास वर्तमान सरकारको प्राथमिकतामा रहेकोसमेत उनको भनाइ छ ।

