काठमाडौं । नेकपा माओवादी केन्द्रले विस्तृत शान्तिसम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका पार्टीहरूबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।
छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत हुनुपर्नेमा जोड दिँदै शीघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने विषयमा सम्बन्धित सबै प्रतिबद्ध भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै छलफलमा सहभागी सबैले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ९आहुति०, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मातृका यादव, हरिबोल गजुरेल लगायतका नेताको सहभागिता रहेको थियो ।

