वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
ललितपुर महानगरले अव्यवस्थित इन्टरनेटका तार काट्न थाल्यो
Prabhu Bank AD

काठमाडौं। ललितपुर महानगरपालिकाले अव्यवस्थित रुपमा सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ । शुक्रबार पुल्चोकको अक्षेश्वर महाविहार क्षेत्रबाट तार हटाउन थिालिएको ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाथेछुले रातोपाटीलाई जानकारी दिए । सम्पदा क्षेत्रभित्रका बिजुलीको पोलमा राखिएका प्रयोग नभएको सबै तार काट्न लगाउने अभियान थालिएको हो ।

महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हाथेछुले बताए । यसअघि ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई प्रयोग नभएको तार हटाउन १० दिनको समय दिइएको थियो ।

उनले भने– ‘दुई दिनअघि भएको इन्टरनेट प्रदायकसहितको बैठकमा सम्पदा क्षेत्रमा १० दिनभित्र तार व्यवस्थापन गर्ने, महानगरले तार काट्ने कुरा भएको थियो । उनीहरुलाई १० दिनभित्र तार व्यवस्थित गर्न सहमति गराएका थियौँ । तार व्यवस्थित गर्नका लागि २० जना नगरप्रहरी पनि खट्ने निर्णय भएको थियो । अब नयाँ तार राख्दा गाडीले नछुने र पोलको माथि व्यवस्थित ढंगले राख्नुपर्ने छ ।’

हाल बिजुलीको पोलमा प्रयोगमा नभएको ८० प्रतिशत हाराहारी इन्टरनेटको तार रहेको र त्यसका कारण शहर र सम्पदा क्षेत्र कुरुप भएको उनले बताए । पुराना तार हटाएर नयाँ तार राखेपछि प्रयोग नहुने इन्टरनेटको तार पोलमा नराख्न पनि इन्टरनेट प्रदायकलाई सहमत गराइएको छ । मेयर चिरिवाबु महर्जनले महानगरले सडकमा टायल हालेर राम्रो पार्ने तर सडकमाथि विजुलीको पोलमा तारको गुजुल्टोले शहर कुरुप देखिएको भनेर तार व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

हाथेछुले भने– ‘तारै तारले गर्दा पर्यटकहरुले मठ–मन्दिरको फोटो खिच्न पाएका छैनन् । तारले गर्दा राम्रो फोटो खिच्न नपाएको भनेर पर्यटकले समेत गुनासो गर्ने गरेका छन् । हुनपनि पनि हो सम्पदा क्षेत्रमा फोटो खिच्दा छ क्लियर आउनुपर्यो, तारै तारको फोटो खिचेर त भएन ।’ १० दिनभित्र सम्पदा क्षेत्र, मच्छेन्द्रनाथको रथ तान्ने क्षेत्रमा प्रयोग नभएका तार काटेर व्यवस्थित बनाउन लागेको उनले बताए ।

महानगरको चारवटा अशोक स्तुपा क्षेत्र आसपास, कुम्भेश्वर मन्दिर, पाटन दरबार क्षेत्र, रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने र रथ तान्ने क्षेत्रका पोलमा रहेका तार हटाउने काम सुरु गरिएको हो । तार काटेपछि नयाँ तार राख्नका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ तार राख्नका लागि नगर प्रहरीले सहयोग समेत गर्ने भएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर