काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ यतिखेर शक्तिराष्ट्रको तानातानमा छन् । नेपालका दुई छिमेकी चीन र भारत र मित्र राष्ट्र अमेरिकाका आ–आफ्ना स्वार्थको सन्तुलनकारी व्यवस्थापन नहुने डरले यी तीन वटै शक्तिराष्ट्रको दौडधूप चलिरहेको छ ।
विश्व राजनीतिमा अमेरिका र चीन परस्पर विपरीत ध्रुवबाट टकराइरहेका छन् । उनीहरुले विश्वमा आफ्नो बर्चस्व कायम राख्न र आफ्नो प्रभाव विस्तार गर्न एकले अर्कोलाई शत्रु राष्ट्रको घोषणा गर्दै अहिले शीतयुद्धको उत्कर्षतिर उन्मुख भइरहेका छन् ।
८५० किमी सिमाना चीनसँग जोडिएको नेपाली भूमिलाई प्रयोग गरेर अमेरिकाले चीनका विरुद्ध गतिविधि गर्न खोजिरहेको छ । एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको छ । रुसका विरुद्ध युक्रेनलाई जस्तै चीनका विरुद्ध नेपाललाई प्रयोग गर्न खोजिरहेको छ । उसले घोषित रुपमा नै रुस र चीनका विरुद्ध विश्वभरका प्रजातान्त्रिक मलुकहरुलाई गोलबन्द गर्ने गरी प्रत्येक बर्ष ‘ग्लोबल डेमोक्रेसी समिट’को अयोजना गर्दै आएको छ । गतबर्षको मार्चमा भएको समिटमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल मार्फत् सहभागिता जनाएका थिए । यस पटक पनि अमेरिकी अधिकारीहरुको श्रृंखलाबद्ध भ्रमण सम्भव भएसम्म प्रधानमन्त्री प्रचण्डलाई भौतिक रुपमा नै सहभागी गराउने नत्र भर्चुअल माध्यमबाट मात्रै भए पनि सहभागी गराउने प्रयत्नमै आधारित रहेका छन् ।
अमेरिकी राजदूत डिन थम्सनले पनि प्रचण्डलाई भ्रमण गराउन लगातार दबाब सिर्जना गरिरहेको स्रोतको दावी छ । अमेरिकी अधिकारीहरुको दबाबका बाबजुद प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म भर्जुअल बैठकमा पनि सहभागिता नजनाउने, सहभागिता जनाउनु परे पनि अमेरिकी परिभाषित डेमोक्रेसीको विरोधमा बोल्ने मनस्थिति बनाएको बालुवाटार स्रोतको दावी छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनुपर्छ, राष्ट्रपतिको सवालमा दलहरू ‘कोलिसन’मा जान हुँदैन, राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल विदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जान्छ, त्यसैले सहमतिको प्रयास जारी छ।’
सर्वमान्य, संविधानको रक्षक र गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वाधीनताको रक्षक बन्न सक्ने, सबै दलको साझा व्यक्तित्वलाई राष्ट्रपतिमा चयन गर्नुपर्नेमा गुरुङले जोड दिए।
भक्तपुरमा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले देशमा बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरूको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्ने भन्दै निषेधको राजनीति नभई सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने औँल्याए।

