काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने विषय ‘फाइनल’ नभएको बताएका छन्।
बिहीबार दिउँसो माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित भएर छलफल भएको छ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘१३ गते त टुंगिहाल्छ नि । पुरानो गठबन्धन ब्युँताउने विषयमा केही पनि फाइनल भएको छैन।’
सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षमा नपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यता, अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुंगोमा पुगिने बताए।

