वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
खोटाङ बजारको सडक निर्माण कम्पनी बेखबर बनेपछि काम अलपत्र
Prabhu Bank AD

 

खोटाङ । खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारको ढलान र कालोपत्र अघि बढ्न सकेको छैन । निर्माण कम्पनी नै गत असारदेखि बेखबर बनेपछि काम अघि नबढेको हो ।

प्रदेश सरकारको करिब २ करोड ६९ लाख लागतमा खोटाङ बजारको करिब ७ सय मिटर ढलान र झन्डै ६ सय मिटर कालोपत्रको काम धुलिखेल निर्माण सेवाले ठेक्का लिएको थियो । २०७८ असार ३० सम्म सक्ने गरी २०७७ असार ३० मा संझौता भएको थियो ।

तर गुणस्तरहीन काम भएको गुनासो बढेपछि अनुगमन गर्दा मापदण्डअनुसारको दूरीमा रडको जाली नराखिएको, गुणस्तरहीन गिट्टी र बालुवा प्रयोग गरिएको, ढलान अघि गरिएको सोलिङ राम्रो नगरिएको लगायतका कैफियत देखिएपछि सच्याउन आग्रह गर्दा उल्टै ठेकेदार बेखबर बनेको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए ।

बजारको सडक निर्माणका लागि सुरुमा कालोपत्र गर्ने भनेर डीपीआर तयार गरिएको तर उक्त संरचना निर्माण गर्दा प्रयोग गरिने रोलरको कम्पनीले बजारका घरहरू जोखिममा पर्ने भएकाले आरसीसी ढलान गर्ने डिजाइन परिवर्तन गरिएको थियो । घर नभएको ठाउँमा भने कालोपत्रे नै गर्ने डिजाइन छ ।

यसअनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजारको पुछारसम्म ढलान गर्ने डिजाइन छ । २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म भने कालोपत्रे गर्ने योजना छ । तर म्याद सकिएको १८ महिना बितिसक्दा पनि काम भने ६० प्रतिशत जति मात्र भएको वडाअध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर