वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
पाठेघरको मुखको क्यान्सर र सतर्कता
Prabhu Bank AD

 

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने एक मात्र स्त्रीरोगको क्यान्सर हो । हाम्रो देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा पाठेघरको मुखको क्यान्सरबाट उच्च मृत्युदर हुनेमा पर्छ ।

पाठेघरको मुखको क्यान्सर धेरै जनामा हुने रोग हो, जुन ह्युमन प्यापिलोमा भाइरस (एचपीभी), मुख्यतया स्ट्रेन १६ र १८ का कारण हुने गर्छ । यो भाइरस संक्रामकजस्तै हुन्छ । एचपीभी संक्रमण मुख्यतया यौनसम्पर्कका कारण हुन्छ । कहिलेकाहीँ दुइटा जननांगको स्पर्श, जननांग–छाला वा छाला–छाला सम्पर्कले गर्दा पनि हुन सक्छ, अर्थात् यौनसम्पर्कबिना नै ।

यो रोग प्राय: निम्नलिखित कारणले हुन सक्छ ।

१६ वर्ष हुनुअघि वा महिनावारी सुरु भएको एक वर्षभित्र यौन गतिविधिमा लाग्नु, यद्यपि पाठेघरको मुखको क्यान्सर औसत ४७ वर्षको उमेरमा हुने गर्छ । उमेर अनुसार यो क्यान्सरको जोखिम दुई पटक बढी हुने गर्छ, ३५–३९ वर्ष र ६०–६४ वर्षमा ।
एकभन्दा बढी बच्चा जन्माउनु ।
धेरै यौन साझेदार हुनु ।
१० वर्षभन्दा लामो समयसम्म गर्भनिरोधक चक्कीहरू लिनु ।
धूमपान गर्नु ।
शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनु ।
सरुवा यौनरोग हुनु (एसटीडी) ।
तेस्रोलिंगी हुनु ।
पारिवारिक इतिहासमा कसैलाई पाठेघरको क्यान्सर वा अन्य क्यान्सर हुनु ।

पाठेघरको मुखको प्रारम्भिक क्यान्सर सामान्यतया लक्षणविहीन हुन्छ । २० प्रतिशत बिरामीमा रोग पत्ता लाग्दासमेत लक्षण नै नदेखिने हुन्छ । तसर्थ पीडितहरूमध्ये धेरैजसो प्राय: अन्तिम चरणमा अस्पताल पुग्ने हुन्छन् ।

योनिबाट असामान्य रक्तस्राव हुनु यसको महत्त्वपूर्ण लक्षण हो । रोगको बढोत्तरीसँगै असामान्य रक्तस्रावको लक्षण लगभग ८०–९० प्रतिशत बिरामीमा हुन सक्छ ।

यौनसम्पर्कपछि हुने रक्तस्राव यौन रूपमा सक्रिय महिलाहरूमा देखिएको पहिलो लक्षण हुन सक्छ । लगभग १० प्रतिशत बिरामीमा असामान्य योनिस्राव अर्थात् डिस्चार्ज पानी, पीप वा म्युकोइड हुन सक्छ । रोग पुरानो भएसँगै पीडा पनि हुन सक्छ ।

ग्लोबल क्यान्सर अब्जर्भेटरी ‘ग्लोबोकान’ का अनुसार, यो रोगको उपचार प्राय: हुन सक्छ, तैपनि यसले विश्वभर लाखौं महिलालाई मारिरहेको छ । सन् २०१८ मा यो रोगका अनुमानित ५,६९,८४७ नयाँ केस भेटिए र विश्वभर ३,११,३६५ जनाको मृत्यु भयो । विश्वव्यापी रूपमा क्यान्सरसम्बद्ध महिला–मृत्युको मुख्य कारक पाठेघरको मुखको क्यान्सर नै हो । यसका पीडितमध्ये ८५ प्रतिशतभन्दा बढी विकासशील देशका हुने गरेका छन् । हाम्रो देशमा यो रोग लाग्नु सामान्य भएको छ र अपेक्षाकृत कम उमेर समूहका महिलाहरूलाई हुने गरेको छ ।

यो रोकथाम गर्न सकिने क्यान्सर भए पनि हाम्रो देशमा यसबाट धेरैको मृत्यु हुने गरेको छ । आखिर किन यस्तो हुन्छ रु मुख्यत: दुई कारणले । हामीसँग व्यवस्थित स्क्रिनिङ ९क्यान्सरको पूर्वअवस्था पत्ता लगाउने काम० छैन, स्क्रिनिङमा धेरै महिलाको पहुँच छैन । धेरैलाई लक्षण र स्क्रिनिङबारे थाहा छैन ।

सहरिया महिलाहरू पनि यसबारे त्यति चनाखो छैनन् । कतिपयलाई स्क्रिनिङ टेस्ट हुन्छ र चाहेमा गराउन सकिन्छ भन्ने थाहा त छ तर पनि विभिन्न कारणले गर्न पाउँदैनन् । घरायसी व्यस्तता, अस्पताल जान डर, जननांग देखाउन लाज, आफू युवा नै भएकाले क्यान्सर हुन सक्दैन भन्ने गलत सोचाइ एवं धेरै वर्षदेखि यौनसम्पर्क गरेको छैन, एक मात्र साझेदार छ, कन्डम प्रयोग गरेर सुरक्षित यौनसम्पर्क गरिएको छ भनेर ढुक्क बस्नु त्यस्ता केही कारक हुन् ।

तर हरेक महिलाले आफ्ना लागि समय दिनुपर्छ, पाठेघरको मुखको क्यान्सरबारे जान्नुपर्छ, सचेत हुनुपर्छ । युवा होऊन् कि वृद्ध, ‘होम मेकर’ होऊन् कि पेसा–व्यवसायमा आबद्ध, हरेक महिलाले आफ्ना शारीरिक समस्याहरूबारे कुरा गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सरका लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । आफूलाई स्क्रिनिङको आवश्यकता छ भनेर सचेत हुनुपर्छ । स्क्रिनिङमा रोगको लक्षण देखिन्छ नै भन्ने हुन्न । रिपोर्ट ५–७ प्रतिशतको मात्र पोजेटिभ हुन सक्छ । पोजेटिभ नै देखिए पनि चिन्ता लिनुपर्दैन, किनकि प्रारम्भिक अवस्थामा सरल तरिकाले उपचार गर्न सकिन्छ ।

स्त्रीरोग विशेषज्ञसँग कुरा गरेर पाठेघरको मुखको क्यान्सरलाई रोक्न वा कम गर्न सकिन्छ । एसिटिक एसिड वा भिजुअल निरीक्षणका रूपमा सस्तो तरिकाबाट स्क्रिनिङ गर्न सकिन्छ । प्याप टेस्ट र एलबीसी र एचपीभी परीक्षणका रूपमा अन्य महँगा विधिहरू पनि उपलब्ध छन् । एचपीभी र साइटोलोजी प्याप टेस्ट र एलबीसी परीक्षण सबैभन्दा राम्रो मानिन्छ । पाठेघरको मुखको क्यान्सर नलागोस् भन्न र मृत्युदर घटाउन नियमित जाँच आवश्यक हुन्छ । दुइटा स्क्रिनिङ ३५ वर्षको उमेरमा र फेरि ४५ वर्षको उमेरमा वा जीवनकालमा एउटा मात्र परीक्षणले पनि पूर्वक्यान्सर अवस्था पत्ता लगाउन सकिन्छ । बिरामी, उनका आफन्त, साथीभाइको सानै भए पनि जमघट गरी यो रोगबारे अन्तरक्रिया गरेर जागरुकता फैलाउन सकिन्छ ।

हाम्रो देशमा क्यान्सरका धेरैजसो केस ढिलो पत्ता लाग्ने र लगभग अन्तिम चरणमा उपचारमा जाने गलत अभ्यास भएकाले अनावश्यक रूपमा बिरामीलाई पीडा र परिवारमा आर्थिक भार हुने गरेको छ । यसको मुख्य कारण जनमानसमा यसबारे चेतना र स्क्रिनिङको कमी नै हो । फेब्रुअरी क्यान्सर रोकथामको महिना भएकाले सबैले पाठेघरको मुखको क्यान्सरबाट बच्ने–बचाउने प्रयास गरौं ।

Prabhu Bank AD

सम्बन्धित खवर