काठमाडौं । नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने र पारिरहेको छिमेकी मुलुक भारतका विदेश सचिव दुई दिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किसकेका छन् । उनले १४ जना राजनीतिक नेताहरुलाई भेटे तर नेपालको सत्ता समिकरणमा निर्णायक मानिएको नवनिर्मित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भने भेटेनन् । भारतले रवि लामिछाने र रवि लामिछाने नेतृत्वको पार्टीलाई पश्चिमा शक्ति निकट मान्दै आएको छ भने उपेन्द्र यादव नेतृत्वको पार्टीलाई चीन निकट भएको आरोपित गर्दै आएको छ । यी दुवै पार्टीका नेतालाई विदेश सचिव क्वात्राले भेट गरेनन् ।
यसअघि नेपालका पूर्व राजदूत समेत रहेका मञ्जिवसिंह पुरीले नेपालको राजनीतिमा पश्चिमाहरुको उपस्थितिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्लेषण गरेर एउटा लेख नै नेपाली मिडियामा छपाएका थिए । सोही लेखमा उनले केपी ओलीको निर्देशनमा नचल्ने राष्ट्रपति भए प्रचण्डलाई सजिलो हुने सुझाब समेत दिएका थिए । र, उनले एमाले र माओवादी नेतृत्वको गठबन्धनको आयु लामो नरहेने पनि विश्लेषण गरेका थिए । क्वात्राले अहिलेको गठबन्धन टुटाएर भए पनि आफू अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने दबाब दिंदै आएको छ । क्वात्राले नेताहरुसँगको भेटमा गठबन्धनको भविष्य र राष्ट्रपति निर्वाचनको बारेमा गहिरो चासो राखेको स्रोतहरुले जनाएका छन् ।
भारत नेपालमा पश्चिमा शक्तिहरुको बढ्दो गतिविधिबाट त्यति खुशी छैन । उनले चीन र अमेरिका दुवैको उपस्थितिले आफ्नो स्वार्थमा धक्का पुगेको महसुस गर्दै आएको छ । संविधान संशोधन गराएर भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथिको नेपाली दाबीलाई छाड्न लगाउने, जलस्रोतमाथिको एकाधिकार कायम राख्ने, आफ्ना समान्तर परियोजनाहरु निर्वाध रुपमा चलाउन दिने, भारतीय उत्पादनहरुको नेपाली बजारलाई बिग्रन नदिने लगायतका स्वार्थहरुको व्यवस्थापनका लागि भारतले राष्ट्रपति निर्वाचन र सरकारको नेतृत्व अदल बदलको परिस्थितिमाथि गहिरो चासो राखिरहेको छ । एमाले, रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि भारतले विकसित परिस्थिति बुझ्न र कांग्रेस माओवादीकेन्द्रकै गठबन्धन बनाउन भूमिका खेल्ने उद्देश्यले मोदीले क्वात्रालाई नेपाल भ्रमणमा पठाएको राजनीतिक विश्लेषकहरुको ठम्याइ छ ।
सोमबार नेपाल भ्रमणमा आएका क्वात्राले परराष्ट्र सचिवस्तरीय बैठक भनिए पनि समकक्षीसँगको वार्तामा एक घण्टा पनि पूरा समय दिएनन् ।
सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै क्वात्राले समकक्षी भरतराज पौड्यालसँगको वार्ता २ बजेसम्म पूरा गरिसकेका थिए । त्यसपछि एकै दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे ।
दोस्रो दिन मंगलबार उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनमत अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेताहरू शेखर कोइराला, बालकृष्ण खाँण र रमेश लेखक र मधेसी नेता हृदयेश त्रिपाठीलाई पनि भेटे ।
प्रधानमन्त्री दाहाललाई त उनले साँझ औपचारिक र राति गुपचुप रूपमा भेटेका छन् । स्रोतका अनुसार सोमबारका सम्पूर्ण भेट सकेपछि क्वात्रा राति बालुवाटार प्रवेश गरेका थिए । २०७७ कात्तिक ५ को राति ‘रअ’ प्रमुख सामन्त गोयल बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकै शैलीमा भारतीय विदेश सचिव क्वात्राले वर्तमान प्रधानमन्त्री दाहाललाई भेटका हुन् । नेपालका लागि राजदूतसमेत रहिसकेका क्वात्राले सत्ता गठबन्धनको भविष्य र नयाँ राष्ट्रपतिको निर्वाचनबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । दाहाल र क्वात्राबीच दुई घण्टा छलफल भएको थियो ।
दुई–दुई पटक भेट भए पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति भने टुंगो लागेको छैन । ‘केही दिन पर्ख र हेरमा रहने भारतको रणनीति देखियो,’ बालुवाटारका एक अधिकारीले भने, ‘राष्ट्रपति निर्वाचनको तस्बिर प्रस्ट भएपछि मात्रै प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको बुझिन्छ ।’ राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनको कार्यसूची छ भने फागुन २५ मा निर्वाचन ।
कांग्रेसले सरकारलाई विश्वासको मत दिएदेखि नै प्रधानमन्त्री दाहालले संवैधानिक पद ९राष्ट्रपति० मा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका छन् । यही कारण सत्ता साझेदार एमाले र माओवादीबीच असमझदारी बढिरहेकै बेला भारतीय विदेश सचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई औपचारिक र अनौपचारिक रूपमा भेटेका हुन् । भेटको विषयवस्तुको छनक पाएका एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धनको भविष्य जोखिममा परेको संकेतसमेत गरेका छन् ।

