काठमाडौँ । सर्लाहीको वाग्मतीस्थित मानवनिर्मित ताल नयाँ पर्यटकीय गन्तव्य बनेको छ । चुरेको फेद वाग्मती नदीको किनारमा १ सय २१ बिघामा ताल फैलिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयास्थित वाग्मती पुलबाट करिब ३ किलोमिटर दक्षिण लागेपछि ताल पुगिन्छ । यहाँ घुम्न दिनहुँ सयौं मानिस आइरहेका हुन्छन् ।
वाग्मती नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गरिरहेका छन् । ताल वरिपरि पार्क निर्माण भइरहेको छ । तालमा बोटिङको व्यवस्था मिलाइएको छ । यहाँ २६ वटा इलेक्ट्रोनिक बोट चलाइएको छ । बोटिङका लागि मधेस प्रदेशका विभिन्न ठाउँका साथै भारतीय सीमा क्षेत्रबाट समेत मानिस आउने गरेका छन् ।

नगरपालिकाले ताललाई ‘वाग्मती माछा पोखरी’ नामकरण गरेको थियो तर स्थानीयले यसलाई ‘भरत ताल’ को नामले चिन्छन् । मेयर भरत थापाको नेतृत्वमा पोखरी बनाउन सुरु भएकाले ‘भरत ताल’ भन्ने गरिएको हो । कतिपय बोटमै ‘भरत ताल’ लेखिएको छ ।
पानीको कमी हुन नदिन वाग्मती नदीबाट पानी हाल्ने व्यवस्था मिलाइएको छ । पानीको निकासको प्रबन्ध पनि छ । यहाँ आउने पर्यटकलाई लक्ष्य गरेर होटल र रिसोर्ट पनि बनाइँदै छ । तालमा ‘वाटर फ्लाई’ लगायतको काम भइरहेको छ । तालको दक्षिण र पश्चिम क्षेत्रको १ सय २५ बिघामा पार्कसहितको बगैंचा बनाइँदै छ ।

