काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । सडकमा केही मात्र माइक्रो‚ ट्याक्सीहरू चले पनि अन्य सार्वजनिक सवारी साधन चलेका छैनन् ।
यातायात नचलेपछि यात्रुहरू कोचिएर यात्रा गर्न बाध्य भएका छन् । निजी मोटरसाइकल‚ गाडीहरू भने चलिरहेको प्रहरीले जनाएको छ ।
सवारी नियम उल्लंघनबापतको जरिवाना रकम घटाउनुपर्ने र ५ पटकसम्म ट्राफिक कारबाहीमा परे चालक अनुमतिपत्र नै खारेज हुने प्रावधान हटाउन माग गर्दै यातायात क्षेत्रका मजदुरले गरेको आन्दोलन अनियन्त्रित बन्दा नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको थियो । जरिवाना रकम र चालक अनुमतिपत्रका प्रावधान सच्याउन माग गर्दै बसपार्क परिसरमा यातायात मजदुरहरूले विरोध कार्यक्रम घोषणा गरेका थिए । तर, त्यसविरुद्ध बसपार्क परिसरको व्यवस्थापक ल्होत्से बहुउद्देश्य प्रालिले मजदुरको विरोध भाँड्न खोजेपछि भड्किएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । त्यसपछि मजदुरहरू बसपार्क क्षेत्रमा सवारी तेर्साएर तोडफोड र आगजनीमा उत्रिएका थिए । त्यसविरुद्ध ल्होत्से समर्थित अर्को समूह प्रतिकारमा उत्रिँदा प्रदर्शन अनियन्त्रित बनेको थियो । त्यस क्रममा प्रहरीको बिट र प्रहरी भ्यान प्रदर्शनकारीले जलाएका थिए ।
नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।
उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।
पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएको जनाइएको छ ।

