काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्पकमल दाहालसँग पार्टी एकता गर्ने विषयमा केही दिनअघि छलफल गरेका नेत्रविक्रम चन्द विप्लवले आफू नेतृत्वकाे पार्टीमा साना तीन पार्टीलाई मिलाउने गृहकार्य थालेका छन् । प्रचण्डसँग एकता गर्नुअघि उनले आफ्नाे शक्तिलाई मजबुत बनाउन यस्ताे एकता गर्न लागेकाे स्राेतकाे दावी छ ।
नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकताका लागि छलफल थालेको एक वक्तव्य मारफत् उनीहरुले जानकारी दिएका छन् ।
उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।
पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

