भैरहवा । मंगलबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालन हुने एक धार्मिक कार्यक्रमका लागि भारतका हिन्दू आध्यात्मिक प्रवचक मोरारी बापु सोमबार अपराह्न लुम्बिनी आइपुगेका छन् ।
उनी भारतको गुजरातस्थित भावनगरबाट आफ्ना अन्य तीन जना सहयोगीका साथमा एक चार्टड बिमान गरी लुम्बिनी आइपुगेका हुन् । उनी मंगलबार अपरान्ह ३ : १५ मा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजक लगायत ठूलो समूहले भव्य स्वागत गरेका थिए ।
श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनी नेपालले मंगलबारदेखि १० दिनसम्म बापुको ‘राम कथा’ कार्यक्रमको आयोजना गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रमको आयोजना गरिएको हो ।
यसैबीच, बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा उक्त कार्यक्रमको संचालन गर्दा बौद्ध धर्मावलम्बीको आस्था विपरीत हुने दाबी गर्दै अन्यत्र आयोजना गरिनुपर्ने माग गर्दै सोमबार दिउँसो लुम्बिनी नजिकैको पर्सा चोकमा विरोध कार्यक्रम गरिएको थियो । यस्तै संयुक्त संघर्ष समितिको नाममा पर्साचोकमा विरोध र्याली र कोणसभा सम्पन्न गरिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त कार्यक्रमका बारेमा जानकारी केन्द्रीय तहसम्म पुगेको र केन्द्रबाट अवस्था हेरेर कार्यक्रम संचालनका लागि अनुमति दिनु भन्ने जानकारी आएको बताए । ‘यो कार्यक्रम संचालनका लागि सहजीकरण गर्न र शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित बनाइने छ,’ प्रजिअ पाण्डेले भने, ‘कार्यक्रमको विरोध गर्ने पक्ष, आयोजक पक्ष र कार्यक्रम संचालनका लागि स्थानको स्वीकृति दिने लुम्बिनी विकास कोष सहितको सरोकारवाला पक्षसंग बुधबार बैठक बसी सहजीकरण गरिने छ ।’
उक्त कार्यक्रम गत माघ २१ देखि माघ २९ सम्म संचालन गर्ने गरी तयारी गरिएको थियो । यसका लागि लुम्बिनी विकास कोषले बौद्ध धर्म, दर्शन र परम्परा विपरीत नहुनेगरी अन्तर्राष्ट्रिय सभा हलमा कार्यक्रम संचालनका लागि स्वीकृति दिएको थियो ।
तर कार्यक्रम संचालन हुने भनिएको दिन भन्दा दुई दिनअघि केही बौद्ध धर्मावलम्बवी संस्थाले विरोध जनाएपछि उक्त कार्यक्रमको मिति सारेर माघ २४ गतेदेखि फागुन ४ गतेसम्म बनाइएको हो ।
लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायममा सहयोग गर्न सम्बन्धित सबैलाई अपिल समेत गरेको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बौद्ध दर्शन, परम्परा विपरीत नहुने गरी सभाहल प्रयोग गर्न दिएको स्पष्ट पारेका छन् । नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको र कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको कोषको विज्ञप्तीमा उल्लेख छ ।

