काठमाडौं । नागरिकता र पासपोर्टको मुद्दामा सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीसमेत गुमाउन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया र पत्रकारका विरुद्ध आगो ओकलेका छन् । उनले सिङ्गै मिडिया क्षेत्रलाई दोषारोपण गरेका छन् । सरकार छाड्ने पार्टी निर्णयबारे जानकारी दिन आइतबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनले केही मिडिया र सम्पादकको नामै लिएर आक्रमणमा उत्रिए ।
कान्तिपुर, अन्नपूर्ण पोष्ट,अनलाइन खबर, सेतोपाटीलगायत केही मिडिया र सम्पादकको नामै लिएर उनले पत्रकारिताको आवरणमा दलाली गरिरहेको दावीसमेत गरेका छन् । मिडिया सञ्चालक र सम्पादकले स्वार्थको द्वन्द्व हुनेगरी बार्गेनिङ्ग गर्ने गरेको उनको आरोप छ ।
राजनीतिक निर्णयबारे जानकारी गराउन भनेर आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकांश समय पत्रकार र पत्रकारिता क्षेत्रको आलोचनामा खर्चिएका उनले ’१२ भाइ’ मिडियाकर्मीले आफूविरुध्द मिसन नै चलाएको आरोप लगाए । उनीहरुले ‘विदेशी जाँड’ खाएर आफ्नो खेदो खनेको लामिछानेले गम्भिर आरोप लगाए । आफूविरुध्द गलत समाचार लेखिएको खण्डमा आफ्ना समर्थकलाई लिएर मिडिया हाउस घेर्न जाने समेत उनले चेतावनीसमेत दिएका छन् ।
अन्नपूर्ण पोष्टका प्रकाशक क्याप्टेन रामेश्वर थापा,कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर टेलिभिजन निर्देशक दिलभूषण पाठक,सेतोपाटी अनलाइनका सम्पादक अमित ढकाल,अनलाइन खबरका सम्पादक शिव गाउँले,जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,हिमाल खबरका कनकमणि दिक्षितको नामै लिएर उनले पटक पटक आलोचना गरे ।
त्यसैगरी अनलाइन खबरका प्रकाशक धर्मराज भुषाल, प्राइमटाइम टेलिभिजन तथा रिपोर्टर्स क्लबका ऋषि धमला, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्ण ज्वाला देवकोटा,शिलापत्रका राजन पोखरेल र नागरिक दैनिकका गुणराज लुइँटेललाई रविले आजको पत्रकार सम्मेलनमा आफूविरुद्ध संगठित रुपमा लागिपरेका भन्दै आरोप लगाएका हुन् ।
त्यसबाहेक उनले हाल कान्तिपुर टेलिभिजनमा कार्यरत सम्पादक अरुण बराललाई पनि उनले अनेक सन्दर्भ जोडेर सोही समूहमा राखेका छन् ।
लामिछानेले अंग्रेजी र हिन्दी भाषामा समेत बोल्दै भारतीय मिडिया, पत्रकार र भारतीय प्रधानमन्त्रीलाई नै सम्बोधन गरेर नेपालका केही मिडिया मालिकहरुले विदेशी एजेन्टको रुपमा काम गर्ने गरेको र अबदेखि ती मिडिया मालिकहरुलाई प्रयोग नगरी यहाँको सरकारसँग सिधै डिल गर्न पनि भनेका छन् ।
उनले मिडिया र पत्रकारिताकै हुर्मत लिएपछि र मिडिया हाउस घेर्ने धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायत सञ्चारसम्बद्ध संघसंस्थाहरुले वक्तव्य नै जारी गरेर विरोध गरेका छन् ।

