काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा समाजवादी मोर्चा बनाउन सहमत भएका छन् । आइतबार साँझ प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका दुई नेता माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएको बताइएको छ । नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणा सोधेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे। बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका थिए। माओवादी केन्द्रले बाबुराम भट्टराईसँग पनि समाजवादी मोर्चा बनाउने सहमति गरिसकेको छ । प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र विप्लवहरु समाजवादी मोर्चा बनाएर जानेमा सहमत भएको स्रोतले दावी गरेको छ ।

