काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे थिए । ‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।
प्रचण्डलाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सहयोगी रामशरण बजाइले रास्वपाका सभापति लामिछाने र ओलीबिच भेट नभएको जिकिर गरे । ‘अध्यक्षज्यू र रविबीच भेटघाट भएको छैन । भेट्ने कार्यतालिका पनि छैन,’ बजगाईँले जिकिर गरे ।

