काठमाडौं । भूमि अभियन्ताहरुका विरुद्ध दिइएको जाहेरी फिर्ता गर्न र महानगरसँग राष्ट्रिय भूमि आयोगले भदौं ९ गते गरेको सम्झौता कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले शुक्रबार विहान ११ बजे माइतीघर मण्डलामा धर्ना दिने तयारी गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भदौं ९ गते गरेको ‘कार्य सहमति’लाई कार्यान्वन नगरेर स्वेच्छाचारी निरंकुश प्रवृत्ति देखाएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ ।
१२ मंसिरमा भएको थापाथली घटनामा पनि मुख्य दोषी महानगर नै भएको र घटनाको जिम्मेवारी मेयर बालेन्द्र शाहले नै लिनुपर्ने भन्दै भूमि अभियन्त तथा मोर्चाका नेताहरुका विरुद्ध महानगरले दिएको जाहेरी फिर्ता गरिनुपर्ने पनि मोर्चाले जोडदार माग राख्दै आएको छ ।
सोही माग लिएर सरोकारवाला मन्त्रीहरुलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदा पनि मागको सुुनुवाइ नभएपछि शुक्रबार विहान ११ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शनको कार्यक्रम राखिएको मोर्चा सम्बद्ध स्रोतले जनाएको छ ।

यसैबीच, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौँका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दै आएका मेयर बालेन सहयोग माग्न गृहमन्त्रीकहाँ पुगेका हुन् ।
उनीहरुबीच महानगरभित्रको सुकुम्बासी समस्या समाधानका सम्बन्धमा कुराकानी भएको बताइएको छ । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानमा सकारात्मक रहेको बताएका थिए ।
केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै काम गर्ने जनाएको थियो ।

