काठमाडौं । भारत र अमेरिकाले कि कांग्रेसबाट कि स्वतन्त्र व्यक्ति हुनुपर्छ भनेर अडान राखिराखेको र सोही अनुसार दबाब सिर्जना हुन थालेपछि सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन्।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।
ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दाबी समेत गरे।
ओलीले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस्। सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ। सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ। देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाट चाहिँ हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ। त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ। त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौं। हामी त्यसलाई ठिक बाटोमा लैजाने कासिसमा छौं।’
अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराए। त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो।

