वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
किन पलायन भइरहेका छन् राष्ट्रिय टोलीका फुटबलरहरु
Prabhu Bank AD

 

नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन । फुटबल विकास र प्रोफेसनालिजम केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल विकासको दीर्घकालीन योजना लागू गर्न नसक्नु र घरेलु प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्न नसक्दा खेलाडी प्रत्येक महिनाजसो विदेश भासिरहेका छन् । फुटबल खेलाडी विदेश पलायनलाई राम्रो मानिएको छैन ।

अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठूलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । अहिले लगभग राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । लगभग ३० जनाभन्दा धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् ।

यस साता नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे । गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलियातर्फ लागे । त्यसको भोलिपल्ट ९बुधबार० राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर रन्जन विष्ट र अट्याकिङ मिडफिल्डर नीतिन थापा पनि समुद्रपारिको देश अस्ट्रेलिया पुगे । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपालाई दक्षिण एसियाली खेकलुद (साग)मा स्वर्ण पदक दिलाएका थिए ।

मंगलबार तीन र बुधबार दुई गरी राष्ट्रिय टोलीका पाँच खेलाडी अस्ट्रेलिया पलायन भएका छन्, पछिल्ला दुई वर्षमा फुटबल खेल्न भन्दै अस्ट्रेलिया गएका ३० भन्दा धेरै खेलाडी उतै हराएका छन्

तेज, दिनेश, गौतम र नीतिन वर्तमान समयकै राष्ट्रिय टोलीका नियमित र भरपर्दा खेलाडीमा पर्छन् । खेलाडीले एन्फा र आफू आबद्ध क्लबलाई कुनै पनि जानकारी गराएका छैनन् । विनाजानकारी एकपछि अर्को गर्दै खेलाडी बिदेसिँदा एन्फा मूकदर्शक भएर बसेको छ । एन्फाले विदेश गएका खेलाडीको ‘रिप्लेसमेन्ट’मा समेत चासो देखाएको छैन । राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै विदेश गएकालाई पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले डेब्यु गराएका थिए । अलमुताइरीले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको एक्सपोजर गराउनुपर्ने भनी आफ्नो कार्यकालमा युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले नेपाली टोलीबाट डेब्यु गराएका र मौका दिएका खेलाडी लगभग अस्ट्रेलियामा छन् ।
गत असारमा पंकजविक्रम नेम्वाङ एन्फामा निर्वाचित भएका थिए । नेम्वाङले एन्फा हाँकेको सात महिना पनि पूरा भएको छैन । सातदोबाटोको एन्फाको केन्द्रीय कार्यालय पदमा राज गरिरहेका नेम्वाङले फुटबललाई गतिशील बनाउन सकेका छैनन् । नेम्वाङ आन्तरिक कलह र विवादबाट बाहिर आउन सकेका छैनन् । आन्तरिक किचलो बनिरहँदा एन्फाले दोस्रो प्रयासमा सहिद स्मारक ‘ए’ डिभिजनको तयारी गरेको छ ।

एन्फा पदाधिकारीबीचको आपसी खिचातानी र राजनीतिका कारण खेलाडी पछिल्लो समय दिक्क मानिरहेका छन् । फुटबललाई नै पहिलो प्राथमिकता राखेका खेलाडीले यसमा भविष्य नदेख्दा नै बिदेसिनुपरेको मुख्य कारण मान्छन् । यद्यपि, राष्ट्रिय टोलीका नियमित सदस्य हुँदा पनि यहाँ सुनिश्चित भविष्य तय नहुँदा उनीहरू ‘सुटकेस प्याकिङ’ गरी कुनै पनि अवस्थामा अस्ट्रेलिया जान तयार देखिएका छन् ।

आखिर नेपाली फुटबल खेलाडीलाई अस्ट्रेलियाले किन आकर्षित र मोहित बनाइरहेको छ रु यसको सहज उत्तर छ । अस्ट्रेलियामा खेलसँगै राम्रो आम्दानी हुन्छ । वास्तवमाफुटबल खेल्न जाने उनीहरूको एउटा माध्यम मात्र हो । उनीहरू त्यहाँ फुटबलसँगै काम गरी राम्रो धन आर्जन गर्ने लक्ष्यका साथ पुगेका देखिन्छन् ।

अघिल्लोपटक अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, हेमन गुरुङ, सुमन अर्याल, शिव गुरुङ, आकाश बुढामगर, नवीन गुरुङ, रुमेश बर्तौला, अमिर श्रेष्ठ र अमृत चौधरीजस्ता खेलाडी अस्ट्रेलियाका विभिन्न सहरमा पुगे । अस्ट्रेलिया पुगेका नेपाली खेलाडीले त्यहाँ अर्धव्यावसायिक ‘सेमिप्रोफेसनल’ लिग खेल्छन् । स्थानीय लिगमै नेपाली खेलाडी रमाउँदै आएका छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायले आयोजना गर्ने प्रतियोगितामा नेपाली राष्ट्रिय खेलाडीलाई निमन्त्रणा गर्दै आइरहेको छ । यस्तैखाले निमन्त्रणामा तीन वर्षभित्र ‘ए’ डिभिजन लिग खेलिरहेका दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पुगेका छन् ।

एन्फाले शुक्रबार ‘ए’ डिभिजन लिगको खेलतालिका सार्वजनिक गर्‍यो । ‘ए’ डिभिजन क्लबहरूले खेलाडीलाई धमाधम अनुबन्ध गरिरहेका छन् । क्लबहरूले खेलाडी अन्यत्र नजाऊन् भनी सम्झौताअनुसार केही रकम पनि दिएका छन् । तर, रकम लिएका खेलाडीले क्लबलाई जानकारी नगराई अस्ट्रेलिया पुगेका छन् । ‘ए’ डिभिजनको नवप्रवेशी क्लब चर्च ब्वाइज क्लबका अध्यक्ष टंकलाल राईले आफूले सम्झौता गरेका खेलाडीले जानकारी नदिई अस्ट्रेलिया पुगेको नयाँ पत्रिकालाई बताएका छन् । ‘लिखितको कुरै नगरौँ, खेलाडीले मौखिक रूपमा समेत अस्ट्रेलिया जान्छौँ भनेनन्,’ निराश हुँदै राईले भने ।

तेज र दिनेशलाई चर्च ब्वाइजले यसै सिजनमा अनुबन्ध गरेको हो । गत सिजनमा तेजले नेपाल पुलिस र दिनेशले मनाङ मस्र्याङ्दी क्लबबाट लिग खेलेका थिए । तेज र दिनेशसँग चर्च ब्वाइजले सात महिनाको सम्झौता गरेको थियो । जानकारी नदिई खेलाडी अस्ट्रेलिया पुग्दा चर्च ब्वाइजका अध्यक्ष राई अचम्मित छन् । ‘हामीलाई आजका दिनसम्म उनीहरूले जानकारी नै गराएका छैनन्, हामीले केही महिनाको पारिश्रमिकसमेत दिएका छौँ,’ राईले भने, ‘लिग सुरु हुन अझै समय बाँकी छ । नेपाल फर्कने या नफर्कने थाहा छैन ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर