काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको छ।
अदालतले शुक्रबार सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद हुने फैसला गरेको हो।
यस्तै, अदालतले सासु तुलसा थापालाई हत्याको मतियार ठहर गरी १० वर्षको जेल सजाय तोकेको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासले उक्त फैसला गरेको होे।
गत पुस २१ गते बिहीबार नै पाँचैजना अभियुक्तलाई अदालतले दोषी ठहर गरेको थियो। अदालतले मृतक सुस्मिताको सासु, ससुरा, दुईजना नन्द र जेठी नन्दका श्रीमानलाई दोषी करार गरेको थियो।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस थिए भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए।
कपिलवस्तु वाणगंगा नगरपालिका माइतीघर भएकी सुस्मिताका पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।
उनीहरूको विवाह २०७६ वैशाख १८ गते भएको थियो। पतिको दुर्घटनामा मृत्यु भएपछि पतिको नाममा रहेको बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। तर ससुराले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेका थिए। मृतक सुस्मिताको बुबाकृष्णबहादुर केसीले २०७७ असार २९ मा पाँचजनाविरुद्ध मुद्दा दर्ता गराएका थिए।
यसरी भएको थियो हत्या
मृतक केसीको हत्यासंग २ वटा प्रमुख कारणहरु जोडिएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार हत्यामा आर्थिक र यौन दुव्र्यहार प्रमुख कारण हो । मृतक केसीको श्रीमान् रुपेन्द्र थापाको २०७६ असोज २३ गते कपिलवस्तुबाट हेटौँडा आउँदै गर्दा मोटरसाइकल दूर्घटनामा परी मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनले पाउने करिब ४० लाख बीमा बापतको रकम , काम गर्ने सिएसआई इन्टरनेशनलबाट आउने तलब, भत्ता तथा बोनस ससुरा प्रकाश थापाले आफुले पाउनुपर्ने दाबी गर्दै आएका थिए । मृतक केसीलाई परिवारका सदस्यहरुले श्रीमान् मर्नुमा उनकै दोष हो भनी पटक पटक मानसिक तनाव समेत दिँदै आएको प्रहरीले खुलाएको छ ।
त्यसैगरी मृतक सुस्मितालाई उनका ससुराले घरकै बाथरुमा यौन दूर्व्यवहारको प्रयाससमेत गरेको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यहरुले आर्थिक प्रलोभनका कारण र यौन दूर्व्यवहार लुकाउन सुस्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी राठोरले जानकारी दिए ।
यसरी मारेका रहेछन्
मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार सुस्मितालाई असार १ गते बेलुकानै लठ्ठी र लोहोरो(मसला पिस्ने ढुंगा)ले हानेर मारिएको अनुसन्धानबाट खुलेको छ ।
भान्सामा बसिरहेकी सुस्मितालाई ससुरा प्रकाशले पछाडीबाट लौराले हानी घाइते बताएको र कान्छी नन्द सीताले मसला पिस्ने लोहोरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सासु तुलसा थापा पनि घटनास्थलमै थिईन् । जेठी नन्द दूर्गा भने सो दिन काठमाडौँ थिईन् ।
सुस्मिताको हत्या गरेपछि नन्द सीता र ससुरा प्रकाशले नुवाए र सफा कपडा समेत फेरे । भान्सामा लागेको रगत समेत सासु तुसलाले पुछ्पाछ् गर्न भ्याईन् । त्यसतगत्तै सासु तुलसा र कान्छी नन्द घरको मूल ढोकाबाट बाहिर भागेका हुन् । ससुरा प्रकाशले मुल ढोकामा चुकुल लगाए र घरको आल्मुमियमको झ्यालबाट बाहिर निस्किए त्यसपछि बाहिरबाट झ्याल लगाइदिए ।
त्यसपछि पुग्यो प्रहरी
घटनाबारे असार २ गते विहान ६ः ३० बजे मात्रै मेरो बुहारीले आत्महत्या गरी भनेर ससुरा प्रकाशले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेपछि प्रहरीले माइती पक्षको समेत रोहबरमा दिउँसो २ बजे घरको मूल ढोका खोलेर घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

