काठमाडौं । नेपालका पूर्व भारतीय राजदूत मञ्जिव पुरीले ‘ट्रिब्युन इन्डिया’ मा हालै प्रकाशित लेखमा नेपाली राजनीतिको विकसित घटनाक्रमको चर्चा गर्दै ‘ओलीको इसारामा नचल्ने राष्ट्रपति भए प्रचण्डका लागि सजिलो’ हुने बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई नेपाली राजनीतिमा पश्चिमा शक्तिको उपस्थितिको रुपमा विश्लेषण गर्दै एमालेका केपी ओलीले ‘हिन्दु राज्य र सांस्कृतिक राजा’प्रति देखाएको मोहका कारण नै राप्रपासँग गठबन्धन र सत्ता सहकार्य भएको पनि बताएका छन् ।
उनले संवैधानिक रुपले नाम मात्रको राष्ट्रप्रमुख भए पनि गएका वर्षहरुको अनुभवले काठमाडौँको शक्तिको खेलमा राष्ट्रपति प्रमुख खेलाडी हुन् भन्दै संसदमा बहुमत नहुँदा सर्वोच्च पदमा मित्रवत् व्यक्ति हुनु साह्रै उपयोगी हुन्छ। र, यो तथ्य ओलीको हिसाबकिताबमा निश्चय नै सबैभन्दा माथि छ। तर, के उनले रोजेकै व्यक्ति राष्ट्रपति बन्लान् त ? भनेर भित्रभित्रै अर्कै खिचडी पाकिरहेको तर्फ संकेत गरेका छन् ।
उनले एमाले–माओवादी गठबन्धन नाजुक अवस्थामा रहेको उल्लेख गर्दै संविधानले दुईवर्षसम्म प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजान नमिले पनि अहिले समर्थन दिएका दलहरुले समर्थन फिर्ता लिए प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने कुरा पनि उल्लेख गरेका छन् ।
उनले फेरि पनि देउवा प्रधानमन्त्री बन्न सक्नेतर्फ संकेत गर्दै एमालेको कुनै नेता राष्ट्रपति भए अहिलेको गठबन्धन टुट्न सक्ने घुमाउरो हिसाबले चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, “प्रचण्डले जनवरी १० मा विश्वासको मत पाए। उनले खसेका २७० मध्ये २६८ मत पाए। रोचक कुरा, आफ्नो पक्षमा पर्याप्त सांसद हुँदाहुँदै उनले देउवाको सहयोग मागे। जसरी उनी देउवासँग दोस्रो चरणमा प्रधानमन्त्री बन्न सहमत भएनन्, त्यसैगरी नयाँ सरकारमा सबै निर्णय ओलीलाई गर्न दिन पनि उनी सक्दैनन्। त्यसैले ओलीको इसारामा नचल्ने राष्ट्रपति भए प्रचण्डका लागि सजिलो हुनेछ।”

